नवलपुर-धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपुरमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। दुर्घटनामा बसमा सवार ४१ जनामध्ये ३३ जना घाइते भएको प्रहरीले जनाएको छ।
आज बिहान करिब ६ः४० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।
दुर्घटनालगत्तै २५ जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको थियो। उद्धार तथा खोजीका क्रममा घाइतेको संख्या ३३ पुगेको हो।
घाइतेमध्ये एक जनालाई भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा सुदूरपश्चिम प्रदेशका कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, डोटी र अछामका यात्रु छन्। धनुषाका एक यात्रु पनि घाइते भएका छन्। घाइतेमध्ये बालबालिका तथा वृद्धवृद्धासमेत रहेका छन्।
दुर्घटनामा घाइते हुनेमध्ये सबैभन्दा कम उमेरकी दुई वर्षीया रेणुका जोशी र सबैभन्दा बढी उमेरकी ७८ वर्षीया धाना चन्द रहेको प्रहरीले जनाएको छ।
बस चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० का ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया