अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सञ्जाललाई नियमन गर्न खोजेको हो, नियन्त्रण होइन: योगेश भट्टराई

सामाजिक सञ्जाललाई नियमन गर्न खोजेको हो, नियन्त्रण होइन: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ।

प्रेस चौतारी नेपाल मकवानपुरको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सचिव भट्टराईले नेकपा एमालेले यी कुरामा कुनै पनि दखल अन्दाजी नगर्ने स्पष्ट पार्नुभयो। ‘नेकपा एमाले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ, नागरिक अधिकारको पक्षमा छ, मौलिक हकको पक्षमा छ, नागरिकको सहज सूचनाको हक र पहुँचको पक्षमा छ’, सचिव भट्टराईले भन्नुभयो।

सामाजिक सञ्जाल र सञ्चारमाध्यम मर्यादित र व्यवस्थित भने हुनुपर्नेमा सचिव भट्टराईले जोड दिनुभयो। सरकाले अहिले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संवैधानिक व्यवस्था अनुसार सामाजिक सञ्जाललाई व्यवस्थित गर्न ल्याएको सचिव भट्टराईले बताउनुभयो।

सामाजिक सञ्जाल राष्ट्र र व्यक्तिको हितको पक्षमा हुनुपर्नेमा सचिव भट्टराईले जोड दिनुभयो। सामाजिक सञ्जाल सामाजिक एकता सुदृढ गर्ने र देशको समृद्धिको पक्षमा हुनुपर्ने सचिव भट्टराईले बताउनुभयो। ‘सामाजिक सञ्जाल राष्ट्रको हितमा होस्, व्यक्तिको हितमा होस्, व्यक्तिको व्यक्तित्व बनाउने कुरामा प्रयोग होस्, समाजको एकता सुदृढ गर्ने कुरामा होस्, यो देशको समृद्धिको पक्षमा होस्, हामी त्यो अपेक्षा गर्दछौँ’, सचिव भट्टराईले भन्नुभयो ।

सामाजिक सञ्जालले सामाजिक एकता नभत्काओस्, सामाजिक सद्भाव नभत्काओस्, कुनै व्यक्तिको मान मर्दन नगरोस् भन्ने विषयमा सचेत हुनुपर्नेमा सचिव भट्टराईले जोड दिनुभयो। ‘हामीले सामाजिक सञ्जाललाई नियमन गर्न खोजेको हो, नियन्त्रण होइन’, सचिव भट्टराईले भन्नुभयो।

Skip This