काठमाडौं-नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले जापानमा रहेका नेपाली प्रवासीलाई मुलुकमा प्रविधि र पुँजी भित्र्याउन आग्रह गर्नुभएको छ।
प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आज जापानको नागोयामा आयोजना गरेको ‘देशको समसामयिक परिवेश तथा नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीहरू’ विषयक कार्यक्रम उहाँले नेपालमा गएर कृषि, पर्यटनमा लगानी गर्न आग्रह गर्नुभयो। ‘तपाईले बाहिर गएर दुःख गरेको कमाई आफ्नो ठाउँमा सुधारका सम्बन्धमा के चीजमा सुधार गर्न सकिन्छ पुजी र प्रविधि सहित लगानी गर्ने सोच बनाउन सके नेपाल बनाउने कुरामा तपाईहरुको योगदान महत्वपूर्ण हुन सक्दछ,’ उहाँले भन्नुभयो।
महासचिव पोखरेलले राजनीतिकलाई जिवन्त रुपमा अगाडि बढाउनका लागि पुरानो अनुभवि पुस्ता, बीचको पुस्ता र नयाँ पुस्ताको समिकरण हुन आवश्यक रहेको बताउनुभयाो। उहाँले पार्टीमा कार्यकर्ताको प्रवृत्ति पहिलो भन्दा धेरै सुधार आएको भन्दै पार्टीको काममा कार्यकता नियमित र सहभागिता उल्लेखनिय रहेको बताउनुभयो। उहाँले पार्टीका कार्यकर्ताको सम्बन्ध जनतासंग जिवन्त हुन नसक्नु कमजोर पक्ष रहेको बताउनुभयो। ‘कार्यकर्ताको सम्बन्ध जनतासंग जति जिवन्त हुनुपर्ने हो त्यो अझै भएको छैन। जसले गर्दा हामी अरु दलभन्दा बलिया त छौ तर निर्णायक अझै हुन सकेको छैनौ,’ उहाँले भन्नुभयो, ‘त्यसैले हाम्रो मिसन निर्णायक शक्ति निर्माण गर्नका लागि आधारभूत जनतासंग पार्टीलाई जोड्ने हो। त्यसका लागि हामीले बडाकेन्द्रीय पार्टी सङ्गठन विस्तार अभियान संचालन गरेका छौं।’
महासचिव पोखरेलले अभियानका कै क्रममा मुलुकको भविष्यको वाटो के हो भनेर जनतासंग संवाद गरेर अगाडि बढ्ने समेत बताउनुभयो। अभियानकै क्रममा आफ्नो दलमा भएको कमि जनताबाट बुझेर त्यसलाई पुरा गर्ने र मुलुकलाई विकास र समृद्धिमा आत्मविश्वासका साथ अगाडि बढाउने उहाँले बताउनुभयो। उहाँले मुलुकको विकासका लागि अविचलित रुपमा पार्टी अगाडि बढेकोले घेरावन्दी भएको बताउनुभयो। ‘आज हाम्रा अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमण र घेरावन्दी देशभक्ति स्वाभिमानमाथिको आक्रमण हो। विकास र समृद्धिमा उहाँको पहलकदमीमाथिको आक्रमण हो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘बलियो शक्ति निर्माणका सम्बन्धमा एमाले पार्टी लिएको अडानमाथिको प्रहार हो। जसले नेपालको राजनीतिकलाई अस्थिरतातर्फ लैजान चाहन्छ, उनीहरुको प्रहार हामीमाथि छ।’
महासचिव पोखरेलले हिजो जापानको हिरोसिमा पिस मेमोरियल पार्कको अवलोकन गर्नु भएको उहाँका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो। प्रवासी नेपाली मञ्चले आयोजना गर्ने कार्यक्रममा सहभागि हुनका लागि महासचिव पोखरेल सहित एमालेका केन्द्रीय सदस्य सूर्य पाठक गत माघ १५ गते जापान जानु भएको थियो। उहाँ यहि माघ २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।







प्रतिक्रिया