काठमाडौं-सभामुख देवराज घिमिरे र नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासबीच आइतबार शिष्टाचार भेटवार्ता भएको छ। भेटमा हमासको नियन्त्रणमा रहेको भनिका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ, दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानी भएको छ।
भेटमा सभामुख घिमिरेले इजरायली राजदूतलाई कार्यकालको सफलताको शुभकामना दिँदै उहाँको कार्यकालमा नेपाल–इजरायल सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो। सभामुख घिमिरेले हमासको नियन्त्रणमा रहेको भनिका नेपाली विद्यार्थी विपिन जोशीलाई पहिलो प्राथमिकतामा राखेर रिहाइका लागि पहल गर्न ध्यानाकर्षण गराउनुभयो। ‘महामहिममार्फत विपिनलाई पहिलो प्राथमिकतामा राखेर रिहाइ गर्न वा स्थितिबारे सार्वजनिक गर्न ध्यानाकर्षण गराउँदछु,’ सभामुखले भन्नुभयो।

सभामुखले नेपाल र इजरायलबीच सन् १९६० मा स्थापना भएको द्विपक्षीय सम्बन्ध मित्रता, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्दै इजरायलले नेपाललाई छात्रवृत्ति, कृषि, श्रम र सुरक्षाका क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो। नेपाल र इजरायलबीचको कृषि तथा श्रम क्षेत्रमा सहकार्यबारे छलफल गर्दै सभामुख घिमिरेले ‘अर्न एन्ड लर्न’ कृषि तालिम कार्यक्रमबाट नेपाली विद्यार्थीहरू लाभान्वित भएको बताउनुभयो। सभामुख घिमिरेले नेपाल शान्तिप्रेमी राष्ट्र भएको उल्लेख गर्दै मध्यपूर्वमा स्थिरता र शान्तिको पक्षमा नेपाल रहेको बताउनुभयो।

भेटमा राजदूत श्मुलिक आरी बासले नेपाली युवा विपिन जोशीलाई सकुशल छुटाएर नेपाल फर्काउन इजरायलले प्रयास गरिरहेको बताउनुभयो। उहाँले जोशीलाई रिहाइ गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायको समेत सहयोग लिनुपर्ने धारणा राख्नुभयो।
गत वर्ष अक्टोबर ७ मा हमास समूहले इजरायलमाथि आक्रमण गर्दा कृषिसम्बन्धी अध्ययन गर्दै काम गर्न गएका नेपालीमध्ये १० जनाको ज्यान गएको थियो । जोशीको अवस्था अझै अज्ञात छ।
राजदूत बासले युद्धपछि इजरायलको जनजीवन सामान्य बन्दै गएको बताउँदै त्यहाँ अध्ययनरत विद्यार्थीलाई नेपालले फर्काउन पहल गर्नुपर्ने बताउनुभयो। उहाँले आफ्नो मुलुक भ्रमणका लागि सभामुखलाई इजरायली समकक्षीको निमन्त्रणा हस्तान्तरण गर्नुभएको थियो।
प्रतिक्रिया