काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई आय र व्ययबीच सन्तुलन कायम राख्न आन्तरिक र बाह्य ऋणको आवश्यकता अपरिहार्य रहेको बताउनु भएको छ। बिहीबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो।
‘नेपालमा केही वर्षदेखि सरकारी ऋणको विषयमा बहस सुरु भएको छ। नेपाललाई ऋणको पासोमा डुबाएको आरोप लाग्ने गरेको छ। आय र व्ययका बीचमा सन्तुलन क़ायम गर्न आन्तरिक र वाह्य ऋण लिने प्रचन सबैतिर हुन्छ। तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा हो।’ महासचिव पोखरेलले भन्नुभयो, ‘ऋण नै लिनु हुँदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोशिस हो। यो प्रकारको चिन्तन विकास विरोधी हो। अझ आफूलाई विकासको हिमायती र योजनाकारका रुपमा चित्रण गर्नेहरुले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो।’
सरकारी ऋणको साँचो उद्देश्य मुलुकको आर्थिक वृद्धिका लागि स्रोत जुटाउनु हो र यसका लागि ऋणको सदुपयोग र दुरुपयोगका बीचको भेद बुझ्न जरुरी रहेकाे महासचिव पोखरेलले बताउनु भयो।
अमेरिका र जापानको उदाहरण दिँदै महासचिव पोखरेलले भन्नहुन्छ, ‘अमेरीकामा कुल गार्हस्थ उत्पादनको १२५ प्रतिशत माथिको सरकारी ऋण भएको मुलुकोमा पर्दछ। जापानमा सरकारी ऋण कुल गार्हस्थ उत्पादन भन्दा २३६ प्रतिसत भन्दा बढी छ। जबकी नेपालमा सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ४० प्रतिसतको हाराहारीमा मात्र छ । तर नेपाल ऋणमा डुब्यो। केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुबाए भनेर हल्ला गरिँदैछ। तर नेपाल दक्षिण एशियामै कम सरकारी ऋण भएको मुलुक पर्दछ।’
नेपाल दक्षिण एशियामा कम सरकारी ऋण भएको मुलुक महासचिव पोखरेलले बताउनुभयो । ‘यस आधारमा नेपाल ऋणको कारणले संकटमा परेको भन्नु उपयुक्त होइन । तीव्र विकास र ठूलो पूर्वाधार निर्माणका लागि सरकारले ऋण लिनु स्वभाविक हो।’ महासचिव पोखरेलले भन्नुभयो।
महासचिव पोखरेलले तीव्र विकास र ठूला पूर्वाधार निर्माणका लागि सरकारले ऋण लिनु स्वभाविक मानिएको र त्यस्ता आयोजना राष्ट्रको अर्थतन्त्रको विकास र प्रतिफल दिने खालका हुनुपर्ने कुरामा जोड दिनुभयो।







प्रतिक्रिया