अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई विष्णु रिमालको प्रश्न: टिकटक प्रतिबन्ध लगाउनेले सामाजिक सञ्जाल फुक्काफालको तर्क गर्ने ?

प्रचण्डलाई विष्णु रिमालको प्रश्न: टिकटक प्रतिबन्ध लगाउनेले सामाजिक सञ्जाल फुक्काफालको तर्क गर्ने ?


काठमाडौं-आज संसदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक ल्याएकोमा प्रतिवाद गरेपछि नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रतिपश्न गर्नुभएको छ।

अध्यक्ष प्रचण्डको सम्बोधनलगत्तै सामाजिक सञ्जालबाटै जवाफ दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार समेत रहेका नेता रिमालले टिकटक प्रतिबन्ध लगाउने व्यक्तिले सामाजिक सञ्जाल फुक्काफाल सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेको भन्दै प्रश्न गर्नु गर्नुभएको हो।

उपमहासचिव रिमालले भन्नुभएको छ, ‘माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्बोधन सुन्दैछु। आफू प्रधानमन्त्री हुँदा चर्चित सामाजिक सञ्जाल टिकटकमाथि जसले प्रतिबन्ध लगायो, उसैले सामाजिक सञ्जाल फुक्काफाल सञ्चालनको तर्क गर्ने ? पत्रकार कनकमणि दीक्षितले प्रचण्डलाई त्यसै demagogue (जनतालाई भड्काएर उनीहरूको भावनामा खेलेर सत्तामा रहने दुर्जन नेता)भन्नु भएको होइन रहेछ।’

आज संसदमा अध्यक्ष प्रचण्डले  सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्तिको अपराधीकरण गर्न खोजेको देखि जनताको मुख थुनेर विवेक नै बन्धक बनाउने नियत देखिएको भनी सरकारको आलोचना गर्नुभएको थियो।

अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि भनेर संसद्मा अहिले दर्ता भएको विधेयक आपत्तिजनक छ। सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्दैन, प्रेसको स्वतन्त्रता पनि नियन्त्रण गर्छ। यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएको छ। अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला?’