अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फुङलिङ नगरपालिकाको पत्रकार सम्मेलन : वार्ता गरौं,केवलकार बनाउन नरोकौं

फुङलिङ नगरपालिकाको पत्रकार सम्मेलन : वार्ता गरौं,केवलकार बनाउन नरोकौं


काठमाडौं -ताप्लेजङमा निर्माण भइरहेको पाथिभरा केवलकारको विवाद सिंहदरबार र सघीय संसदमा प्रवेश गरे पनि स्थानीयबासिन्दाहरु भने केवलकार निर्माण गर्नुपर्ने पक्षमा रहेका छन् । फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले आज पत्रकार सम्मेलन गरेर यो आयोजना रोकिएमा ताप्लेजुङको विकास नै छोपिने तर्क राख्नु भएको छ । नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मादेनले असन्तुष्ट समुहसँग वार्ता पनि गरौं तर केवलकार निर्माण नरौकौं भन्ने प्रस्ताव गर्नु भएको छ ।

‘नगरपालिकाले संयोजन गरेको यो पत्रकार सम्मेलनमार्फत म ‘नो केबलकार’भनिरहेका साथीहरूलाई आग्रह गर्छु,ताप्लेजुङको विकासप्रति तपाँईहरु पनि चिन्तित भइदिनुहोस्’ नगरप्रमुख मादेनले भन्नुभयो । मादेनले पाथीभरा(मुक्कुमलुङ)दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकाल सहित स्वदेशी लगानीकर्तालाई प्रोत्साहित गरेर विकास निर्माणको जग बलियो बलियो बनाउनुपर्नेमा दलाल र माफिया भनेर हतोत्साहित गर्नु राम्रो विषय नभएको बताउनुभयो । विकास निर्माणमा अवरोध भइरहने हो भने व्यवसायीहरू पलायन हुने, आर्थिक विकासले गति नलिने,समृद्ध समाज निर्माणको अभियानमा क्षयीकरण हुने भएकोले केबलकार निर्माण गरेर स्थानीय रुपमै रोजगारी सृजना र अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने मेयर मादेनको दाबी थियो । नगरप्रमुख मादेनले केबलकार निर्माणको विपक्षमा रहेकाहरूलाई‘ तपाँईहरुका पनि सन्तान छन्,विकासको मोडेलमा अवरोध गरेर सन्तानको भविष्य संकटमा पार्नुहुन्न’भन्ने सुझाव पनि दिनुभएको छ ।

भक्तजनहरूको सुविधाको असल माध्यम र अर्थतन्त्रको विकास एकसाथ अघि बढाउने उद्देश्यले केबलकार निर्माण गर्नुपर्ने मादेनले बताउनुभयो । माता कसैको र मठमन्दिर कुनै जात,धर्म,संस्कार र संस्कृति मात्रैको पेवा नहुने बरु सबैको साझा हुने भएकोले प्रकृतिको संरक्षण र संस्कृतिको विकासका लागि केबलकार बन्नुपर्ने मादेनको भनाई थियो । उनले केबलकार निर्माण आधुनिक युगको विकास र सबैभन्दा कम प्राकृतिक क्षतिबाट पूरा हुने साधन भएको दाबी गरे ।

मादेनले केबलकार निर्माणका क्रममा पाथीभरा डाँडालाई भत्काउने, लडाउने र प्राकृतिक हिसाबले नयाँ स्वरूपको बनाउने नभएकोले केबलकार निर्माणबाट संस्कृति,प्रकृति र मुन्मुधीस्थल मासिने भन्ने गलत तर्क मात्र रहेको बताए ।‘मलाई तपाँईहरुले गाली गर्नु भएको,धेरै आलोचना गर्नु भएको छ’नो केबलकार पक्षधरहरूप्रति सङ्केत गर्दै मादेनले भन्नुभयो तपाँईहरुले अब चिन्ता लिने भनेको विकासको हो,भावी पुस्ताको र समृद्ध ताप्लेजुङको हो’ । सार्थक वार्तामा बसेर समस्या समाधान सहित केबलकार निर्माण प्रकृया अघि बढाउनुपर्ने नगरपालिकाको धारणा रहेको प्रमुख मादेनले बताउनुभयो ।

पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपाने,वडा नं का वडाध्यक्ष टंक पालुङ्वा,वडा नं ४ का वडाध्यक्ष दुर्गाप्रसाद पालुङ्वा,वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ (तेज),वडा नं ७ का वडाध्यक्ष योगेन्द्रप्रसाद निरौला,वडा नं ९ का वडाध्यक्ष लक्षुमन गुरुङ,वडा नं ११ का वडाध्यक्ष युवराज भट्टराई सहितले लडाई र झगडा बेगर केबलकार निर्माण हुनुपर्ने तर्क राखे । प्रकृति र संस्कृतिको संरक्षण र जर्गेना गर्दै केबलकार निर्माण हुनुपर्ने पक्षमा आफुहरु रहेको वडाध्यक्षहरूको मत थियो ।

पत्रकार सम्मेलनमा पूर्व नगर उपप्रमुख बमबहादुर भट्टराई, ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू, गैर सरकारी संस्था महासंघका अध्यक्ष खड्गविक्रम सुबेदी,एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ, इसाई समाजका अर्जुन कार्की सहितले शान्तिपूर्ण र सहज रूपको लगानीमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिए । विकासका लागि लगानी प्रोत्साहित गर्नुपर्ने,लगानीमैत्री वातावरणमा सबैले ध्यान दिनुपर्ने,विकासमा विभाजन होइन,एकमत हुनुपर्ने राय सरोकारवालाको थियो । उनीहरुले वार्ता र संवादकै माध्यमबाट केबलकार निर्माण प्रकृया अघि बढाउनु पर्नेमा जोड दिए ।