काठमाडौँ-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक माध्यमबाट समाधान गरेको बताउनु भएको छ।
ओमनको मस्कटमा आयोजित आठौं हिन्द महासागर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरुलाई जानकारी गराउँदै यस्तो जानकारी दिनुभएको हो।
यस विषयमा हिजो मात्र पनि आफूले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यबंशी सुरजसँग फोनमा कुराकानी गरेर नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरण सहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको जानकारी दिनुभयो।
भारतीय मन्त्री सुरजले पनि उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराउनु भयो। मन्त्री देउवाले भन्नुभयो, ‘उक्त घटनापछि हामीले तत्कालै कूटनीतिक पहल सुरु गर्यौं । मृतकलाई न्याय र दोषीमाथि कारबाहीको माग त छँदैछ, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित पठनपाठनको व्यवस्थाका लागि सम्बद्ध निकायहरुबीच समन्वय ग¥यौं । त्यसपछि विश्वविद्यालयले माफी मागेर विद्यार्थीलाई होस्टेल फर्काएको छ भने दुर्व्यबहार गर्ने कलेजका स्टाफलाई कारबाही गरेको छ ।’
विद्यार्थी मृत्युको घटनाको छानबिनका लागि ओडिसा सरकारले नै एक उच्चस्तरीय छानबिन समिति गठन गरिसकेकाले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी काबराहीको माग नेपालले गरेको छ । यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार र विश्वविद्यालय प्रशासनसँग सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जानकारी पनि मन्त्री डा. देउवाले बताउनु भयो।
मन्त्री देउवाले नेपाली विद्यार्थी हाल विश्वभर पुगेका तर सबैको तथ्याङ्क परराष्ट्रसँग नरहेकाले आगामी दिनमा यस्तो तथ्याङ्क परराष्ट्रमा नै रहने व्यवस्था गर्न सकिएमा उनीहरुको उद्धारका लागि सजिलो हुने बताउनुभयो।







प्रतिक्रिया