बिर्तामोड-नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको ७३औँ जन्मोत्सवका अवसरमा आज बिहान झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम सम्पन्न गरिएको छ।
स्थानीय नागरिकहरुको अगुवाईमा बिहान ७ बजे कनकाई नगरपालिका २ धनुष्कोटीधाममा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम सम्पन्न गरिएको हो। सोही स्थानमा अखण्ड दीपसहित ७३दीप प्रज्वलन गरिएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य एवम् दिर्घ जीवनको कामना गर्दै अष्टचिरञ्जीवीको पूजासहित दीप प्रज्वलन गरिएको हो । श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका वडा नं. २ लगायतको अगुवाईमा पूजा गरिएको हो।

पूजामा नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की, वडा नं. २ का अध्यक्ष बलराम राई, सामुदायिक वनका अध्यक्ष बलराम रिसाल, धनुषकोटी धामका अध्यक्ष भक्त बहादुर पौडेलसहित स्थानीय नागरिकको सहभागी रहेको थियो । धाममा बटुकहरुले स्वस्थिवाचन गरेका थिए ।

अष्टचिरञ्जीवीको पूजापछि नजिकै रहेको वन क्षेत्रमा ७३ वटा बहुमूल्य जातका बिरुवाहरू रापिएको छ । वृक्षरोपण गरिएको क्षेत्रलाई वनका अध्यक्ष रिसालले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा ‘जन्मोत्सव पार्क’ नामाकरण भएको घोषणा गरेका छन् । कार्यक्रममा सहभागीहरुले रुद्राक्षको विरुवा रोप्दै वृक्षरोपणको शुभारम्भ गरेका थिए ।








प्रतिक्रिया