अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो: प्रधानमन्त्री ओली

राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताउनुभएको छ। सिरहा सदरमुकाममा नेकपा (एमाले) को ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पक्षधर कस्ता हुँदा रहेछन् भन्ने कुरा यही चैत १५ गतेको उनीहरुको क्रियाकलापले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपाली जनताले राजतन्त्रलाई नस्वीकार्ने बताउनुभयो।

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट पार्नुभयो। २०८१ चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरुका हातमा शासन नजाने र दिन नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो।

‘तपाईँहरु ढुक्क हुनुस्। राजतन्त्र कुनै हालतमा फर्कँदैन। एमाले र काँग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ।’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सरकार चुनावसम्म टसमस हुँदैन। अबको १५ महिनापछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु। सरकार अहिले ढल्छ, भेर ढल्छ भन्नेहरु अब थाके। यो मजबुद सरकार हो।’

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा धनुषा र सिरहा जोड्ने हुलाकी सडकको कमला पुल समयमै निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो।

कार्यक्रममा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पार्टीका मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो। यसअघि प्रधानमन्त्री ओलीले आजै जनकपुरमा मधेस प्रदेशसभालाई सम्बोधन गर्नुभएको थियो ।