काठमाडौं-नेपाल बार एशोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र विजयी हुनुभएको छ।
बिहीबार आएको मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र ५ हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
माओवादीलगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाउनुभयो।
महासचिवमा पनि कांग्रेस–एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४ हजार ८७४ मतका साथ विजयी हुनभएको छ भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाउनु भयो।
अन्य सबै पदाधिकारीमा काँग्रेस-एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन्।
कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित हुनुभएको छ।
यसैगरी कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।


प्रतिक्रिया