काठमाडौं -नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले वर्तमान सरकार बनेपछि देश स्थिरतातर्फ अघि बढेको बताउनुभएको छ ।
नेकपा एमाले जनसंगठन संयन्त्रको आजको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताउनुभएको हो । देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठुला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको उहाँले दाबी गर्नुभयो ।
उहाँले अहिले पनि मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरू भइरहेका बताउनुभयो । राजवादीको नाममा काठमाडौंमा गराइएको घटना त्यसकै उदाहरण भएको उहाँको भनाइ छ । ‘केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि जब मुलुक स्थिरताको कोर्षमा गएको उद्घोष गर्नुभयो, तब मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन थाले’, उहाँले भन्नुभयो ।
मुलुकलाई अस्थिरतामा लैजान जति प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताउनुभयो । अस्थिरताले देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने उहाँको धारणा छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षता तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।
ढकालले बैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउनका लागि जुट्न पार्टीका सबै जनसंगठनलाई आग्रह गर्नुभयो । यसमा युवाको ऐतिहासिक सहभागिता हुने गरी लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
बैठकमा एमाले स्थायी कमिटी सदस्य, नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम पार्टी पोलिटब्युरो, केन्द्रीय कमिटीका नेताहरू तथा जनसंगठनका प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया