अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले-कांग्रेस गठबन्धनको सरकार २०८४ को निर्वाचनसम्मै रहन्छ: योगेश भट्टराई

एमाले-कांग्रेस गठबन्धनको सरकार २०८४ को निर्वाचनसम्मै रहन्छ: योगेश भट्टराई


ताप्लेजुङ-नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सत्ता समीकरण पूरै समय जाने बताउनुभएको छ।
शुक्रवार बिहान ताप्लेजुङमा प्रेस चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव भट्टराईले गठबन्धन बीचचमा नै टुट्छ कि भन्ने द्विविधामा नपर्न आग्रह गर्नुभयो। ‘यो गठबन्धन आगामी २०८४ को निर्वाचनसम्म जाने छ, यसमा कुनै द्विविधा छैन’, सचिव भट्टराईले भन्नुभयो।

बिचमा केही राजनीतिक दलका नेताहरूले गठबन्धन टुटाउन सकिन्छ कि भन्ने प्रयास गरेका भए पनि त्यो सम्भव नभएको उहाँले बताउनुभयो । देशको अस्थिरतालाई स्थिरता तिर लैजान र सुशासन कायम गर्न, भ्रष्टाचारलाई अन्त्य गर्दै विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्य राखेर यो गठबन्धन बनेको उहाँले जानकारी दिनुभयो।

संसदबाट छिटो छरितो ढङ्गले कानुन बनाउनको लागि पनि यो गठबन्धन बनेको उहाँले जानकारी दिनुभयो । संविधान संशोधन यो सरकारको प्रमुख एजेण्डा भएको बताउँदै उनले संविधान संशोधनका एजेण्डाका विषयमा नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलले आन्तरिक छलफल चलाइरहेका भट्टराईले प्रष्ट पार्नुभयो । आवश्यक छलफल गरेपछि उपयुक्त समयमा संविधान संशोधनको काम अघि बढाइने उहाँले जानकारी दिनुभयो । ‘सँगसँगै संविधानमा आवश्यक संशोधन गर्ने कुरा पनि हामीले उठाएका हौँ’, भट्टराईले भन्नुभयो ।

यो गठबन्धनको अर्को एक वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्ने र त्यस पछि शेरबहादुर देउवाले नेतृत्व गर्ने स्पष्ट सहमति भएको उहाँले जानकारी दिनुभयो ।

सकारी काममा हुने ढिलाइ अन्त्य गर्न, देश भित्र लगानीको वातावरण बनाउन तथा सुशासन कायम गर्न सरकारले कानुन बनाएको उहाँले बताउनुभयो । यसले देशमा व्यावसायिक लगानीको वातावरण र सुशासनको लागि आधार निर्माण भएको भट्टराईले दाबी गर्नुभयो । यसका केही सकारात्मक सङ्केत पनि देखिएका उहाँको धारणा छ ।

यस पटक सरकाले परिणाम दिने आयोजना छनोट गरेर बजेटको सुनिश्चितता गर्ने पनि उहाँले जानकारी दिनुभयो । विगतको जस्तो कनिका छरेजस्तो बजेट छरेर उपलब्धि नहुने आयोजनामा पैसा खर्च नगर्ने उहाँले बताउनुभयो । आयआर्जन र उत्पादन वृद्धिका आयोजनामा सरकाले जोड दिने भट्टराईले जानकारी दिनुभयो ।

पछिल्लो समय भएका अराजनीतिक गतिविधि निन्दनीय भएको भट्टराईले बताउनुभयो। मुख्य राजनीतिक दलको अगुवाइमा जुन व्यवस्था कायम भएको छ, त्यसमा भएका कमजोरीलाई सच्याउँदै अघि बढ्नु पर्छ भन्ने कुरामा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरू स्पष्ट रहेका उहाँले धारणा राख्नुभयो।

व्यक्तिगत र सरकारी सम्पत्ति तोडफोड गर्ने, पार्टी कार्यालयमा आगजनी गर्ने, मानिसलाई ज्युँदै जलाउने कार्य अतंककारी कार्य भएको उहाँले टिप्पणी गर्नुभयो। यसका विरुद्ध नेपालले ठाउँ ठाउँमा जागरण सभा गरिरहेको उहाँले जानकारी दिनुभयो ।

शिक्षक महासंघको आयोजनामा भइरहेको आन्दोलनका विषयमा भट्टराईले विगतमा भएका सम्झौता प्रति एमाले प्रतिबद्ध रहेको बताउनुभयो । तिनै सम्झौताका आधारमा शिक्षा ऐन आउनु पर्ने उहाँको धारणा छ । विद्यालय शिक्षा ऐनले शिक्षकका माग र समस्या सम्बोधन गर्ने उहाँले जानकारी दिनुभयो । ‘आउने बजेट अधिवेशन सुरु हुने बित्तिकै हामी विद्यालय शिक्षा ऐन प्रतिनिधि सभाबाट पास गरेर राष्ट्रिय सभामा पठाउँछौँ’, उहाँले भन्नुभयो।

नेपालमा सार्वजनिक खरिद ऐन पनि संशोधन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । यही ऐनमा रहेर काम गर्नु हो भने विकासका काम छिटो नहुने उहाँको धारणा छ।