काठमाडौं-युवा चिकित्सक डाक्टर आनन्द सिंहले नेपालमा केही भएको छैन भन्नेलाई उदाहरण सहित जवाफ दिनुभएको छ।
लोकतन्त्र दिवसको अवसरमा आज अर्थात् वैशाख ११ गते काठमाडौंको भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै सिंहले एउटा दुर्गम गाउँमा जन्मिएको सामान्य परिवारको मानिसले राजधानीको भव्य मञ्चमा बोल्न पाउनु लोकतन्त्रको सुन्दरता भएको बताउनुभयो। लोकतन्त्र सुन्दर छ, यो मैले मान्नु पर्छ, तपाईँले मान्नु पर्छ, सबैले मान्नु पर्छ’, उहाँले भन्नुभयो।
फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कारका नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको उहाँले बताउनुभयो। एकता सधैँ कायम हुँदा मात्र देश बन्ने उहाँले बताउनुभयो। एकता भावनामा मात्र होइन विचार, बौद्धिकता र समावेशितामा पनि हुनु पर्ने उहाँको धारणा छ।
संविधान निर्माण भइसकेपछि नेपालले निक्कै प्रगति गरेको उहाँले बताउनुभयो। एक दशकमा नेपालमा उल्लेखनीय काम भएको उहाँको ठम्याई छ। राष्ट्र निर्माणको कामलाई अझै गुणात्मक रूपमा अघि बढाउन आवश्यक रहेको बताउँदै उहाँले यसमा युवा सहभागिता आवश्यक रहेको स्पष्ट पार्नुभयो । ‘युवाको सही परिचालन हुन आवश्यक छ, सानो भन्दा सानो काम गरेर युवा आत्मनिर्भर बन्नु पर्दछ’, उहाँले भन्नुभयो ।
डा. सिंहले युवालाई निराश नहुन आग्रह गर्दै नेपालमा धेरै अवसरका बाटोहरू खुल्दै गएका बताउनुभयो । नेपाली कलेजहरूमा विदेशीहरू समेत अध्ययन र तालिमका लागि आउने गरेका उहाँले सुनाउनुभयो । यो नेपालको ठुलो उपलब्ध भएको सिंहको धारणा छ । स्वास्थ्य बिमा विश्वका थोरै राष्ट्रले गरेको लोककल्याणकारी काम नेपालमा भइरहेको उहाँको भनाइ छ ।
नेपाल अब सुरुङ युवामा प्रवेश गरेको भन्दै उहाँले यसले समृद्धिको आधार तयार गरेको बताउनुभयो । धेरै विकसित देश भन्दा नेपाल पछाडि रहेको स्विकार्नु पर्ने बताउँदै उहाँले नेपालले सार्वभौमसत्ताको प्रयोग नै २ सय वर्षभन्दा पछि गरेको कारण यो अवस्था आएको सिंहले बताउनुभयो ।
युवाले सकारात्मक सोच राख्नु पर्ने बताउँदै उहाँले युवा सकारात्मक सोका साथ अघि बढ्ने हो भने देश सही दिशामा अघि बढ्ने बताउनुभयो।








प्रतिक्रिया