अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवाहरुले देश बनाउने सङ्कल्प गर्नुपर्छ: प्रधानमन्त्री ओली (पूर्णपाठ)

युवाहरुले देश बनाउने सङ्कल्प गर्नुपर्छ: प्रधानमन्त्री ओली (पूर्णपाठ)


काठमाडौँ-प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरुले सङ्कल्प र तागत देखाउनुपर्ने बताउनुभएको छ।

नेकपा एमालेले लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजिते युुवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभएको हो।

‘देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन्। महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन्। ढुक्क हुनुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ।’

प्रधानमन्त्री ओली भन्नुभयो, ‘वैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजय र लोकतन्त्रले जितेको दिन हो । यो दिनलाई उत्सवको रूपमा मनाउनुपर्छ । निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको थियो । हामीले अनेक कठिनाइ झेलेर संघर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको हो । सामन्ती व्यवस्थालाई पुन फर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने जस्ता जङ्गली र राक्षसी प्रकृत्ति गलत हो। यस्ता कार्य सैह्य हुँदैन ।’’

एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्वहरू एमाले विरुद्ध खनिएका उल्लेख गर्दै उहाँले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकमा एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्षका साथ बनेको स्पष्ट गर्दै आफ्नो पार्टी सरकारतिर नभई चुनावतिर ध्यान दिइरहेको जनाउनुुभयो।

आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको बताउँदै उहाँले केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका भन्दै यसमा सचेत हुनुपर्ने बताउनुभयो।

पूर्णपाठ

यस कार्यक्रमका अध्यक्ष महोदय, यहाँ उपस्थित हुनुभएका नेतागण, सम्पूर्ण युवा भाइबहिनीहरु, साथीहरु, दिदीबहिनी तथा दाजुभाइहरु !
आज एउटा खुशीको दिन, बलिदानको स्मरण गर्ने, संघर्षको स्मरण गर्ने र सफलताको उत्सव मनाउने दिन हो । राजालाई जनताले शान्तिपूर्ण आन्दोलनबाट पराजित गरेर आफ्ना अधिकारहरु फिर्ता लिएर आफूलाई सार्वभौम बनाएको दिन, विजयको दिन हो । त्यसैकारण आज यो विजय उत्सवको रुपमा, युुवाहरुको एउटा चार्डको रुपमा कन्सर्टसहित मनाउने आयोजना भएको छ । म खुशी व्यक्त गर्न चाहन्छु । यस अवसरमा यो सम्पूर्ण नेपालीको खुशी, सबैसँग साँट्न चाहन्छुु ।
हामीले सदियौ होइन, हजारौ वर्षसम्म अधिकारविहीन भएर रहनु पर्‍यो । पछिल्लो समयमा पनि २ सय ४० वर्ष राज शाहीको दमनचक्रमा सहेर बस्नु पर्‍यो । १०४ वर्षभित्र राणा शासन घुुसेर दोहोरो चेपाइमा, थिचाइमा नेपाली जनता पर्न पर्‍यो र भोग्न पर्‍यो । अधिकारविहीन भएर पढ्न र लेख्न नपाइने, बोल्न नपाइने, विकासको बाटोमा दुनियाँ कहाँ पुगिसक्यो, हामी जहाँको त्यही रहनुपर्ने, हामी भोकभोकै पर्न पर्ने, विकासका सबै सम्भावनामा ढोका लाग्ने, विकास खाली उनीहरुको हुने, जनताको नहुने त्यस स्थितिबाट हामीले लामो समय गुज्रिनु पर्‍यो ।

हामीले लोकतन्त्र ल्याएपछि पनि पटक पटक हाम्रा अधिकारहरु राजशाहीले खोस्ने, फेरि देशलाई पछाडि फर्काएर अन्धकार युगतिर धकेल्ने कामहरु पटक पटक भए । तिनीहरुका विरुद्ध हामीले बलिदानीपूर्ण संघर्ष गर्‍यौं, अनेक जेलनेल, भूमिगत, निर्वासन, अनेक प्रकारका यातना र कठिनाइहरु झेल्दै संघर्ष अगाडि बढायौं र सफलतापूर्वक आज यस ठाउँमा आइपुगेका छौं ।

म युुवा साथीहरुलाई भन्न चाहन्छु, अब तपाईंहरुले देशलाई अगाडि बढाउनुु पर्नेछ । अब देश कस्तो बनाउने, जन्मिदै श्रेष्ठताको कुनै वैज्ञानिक आधार नभएको पाखण्डी सिद्धान्त, कुलघरानाका आधारमा, जन्मका आधारमा श्रेष्ठता भनेर चलाइने वैज्ञानिक आधार कुनै नभएको अवैज्ञानिक पाखण्डी सिद्धान्तका आधारमा शासन गर्न खोज्ने, सामन्ती युुगलाई फेरि फर्काउने खोज्ने आवाज पनि कताकता सुनिन थालेका छन् । त्यस नाममा देशमा लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र त्यसलाई मजाक उडाउने काम भएको छ । प्रतिगमनतर्फ देशलाई लानका लागि जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरु, पार्टीका कार्यालयहरु, त्यसै गरेर व्यापारिक प्रतिष्ठानहरु अथवा मिडियाका कार्यालयहरु, त्यस्ता सञ्चार गृहहरुमाथि आक्रमण हुने अथवा एउटा जंगली होइन, राक्षसी प्रवृति देखाएर फेरि जनतामाथि यिनीहरुले कस्तो शासन थप्न खोजेका छन्, कुन तानाशाही ल्याउन खोजेका छन् भन्ने कुरा स्पष्ट देखाएका छन् । अब युुवाहरुले यस्ता कुराहरुलाई देखिनेगरी, सुनिने गरी, बुुझिने गरी अस्वीकार गर्न आँट गर्नुु पर्दछ । यस्ता कुराहरुलाई अस्वीकार गर्दै देशको, लोकतन्त्रको, संविधानको रक्षा गर्ने र देशलाई सुुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नु पर्दछ । त्यसैकारण हामीले भनेका छौं–समृद्ध नेपाल, सुखी नेपाली । लोकतन्त्रमा मात्रै देश समृद्धितर्फ अगाडि बढ्न सक्छ भन्ने कुरा विगत ३० वर्षको इतिहासले नै देखाएको छ, ३० वर्ष अगाडि कस्तो अवस्थामा थियो भनेर । ३० वर्ष यता विकासले देशव्यापी रुपमा कुन गति लिएको छ, पूर्वाधारका क्षेत्र होउन् कि अरु क्षेत्र होउन्, स्वास्थ्य अथवा सामाजिक क्षेत्रमा जनतालाई माया गर्ने प्रणाली कुन रहेछ भन्ने कुरा, कसले गर्दो रहेछ भन्ने कुरा, हामीले ज्येष्ठ नागरिक भक्तादेखि सडकका बालबालिकाको व्यवस्था गर्नेदेखि, सडक मानवको व्यवस्था गर्नेदेखि भीखमंगाहरु रहन नपाउने, भीखमंगा कोही हुनुु पर्दैन, कसैले रहरले गलत ढंगले भीखमंगा हुन खोज्छ भने त्यस्ता कुराहरुलाई अस्वीकार गर्ने ती कामहरु हामीले गरेका छौं ।

आज विभिन्न तत्वहरुले भडकाउपूर्ण कुराहरु गर्ने, गलत बाटोमा र अराजकतातिर देशलाई धकेल्न खोज्ने, अनुुशासनहिनतातर्फ देशलाई धकेल्न खोज्ने र युवा पंक्तिला अल्मल्याउन खोज्ने प्रयास भइरहेका छन् । युवा आफ्नो साथमा छ भनेर धाक लगाउने र भ्रम छर्ने त्यस प्रकारका प्रयासहरु भइराखेका छन् । केही मानिसहरुलाई विभिन्न सामाजिक सञ्जालमा खटाएर, पेड मान्छेहरुबाट, केही मान्छेहरुबाट देश भरि भ्रम फिजाउने प्रयास भइराखेको छ । त्यसकारण हामी यस्ता कुराहरुमा सचेत र सजग हुन आवश्यक छ, जरुरी छ । म हाम्रा युवाहरुलाई आग्रह गर्न चाहन्छु, अबको समय भनेको हामी आफैँ सचेत भएर, के कुरालाई अस्वीकार गर्ने, के कुरालाई स्वीकार गर्ने र अगाडि बढाउने छुट्याउन सक्नु पर्दछ । हामीले पहिले पनि भनेका थियौं, अबको समय भनेको देशमा युुवाहरुको समय हो र युवाहरुका लागि हामीले शिक्षाको प्रबन्ध, आम्दानीको प्रबन्ध अथवा उद्यमशीलता र रोजगारीको व्यवस्थाको बाटोबाट अगाडि बढ्नुु पर्दछ । युुवाहरुलाई शारीरिक र मानिसक रुपबाट स्वस्थ राख्नु पर्दछ । अर्थात्, हामीले भनेका थियौं, शिक्षा, ज्ञान, सिकाइ एउटै कुरा हो । सिकाइ, कमाइ र दबाई अर्थात् शिक्षा, उद्यमशीलता र स्वास्थ्य यी कुराहरुलाई अगाडि बढाउने । यसका लागि हामी हरेकले सचेत हुनुपर्छ । आज युुवाहरुलाई अनेक प्रकारले गलत चिजमा फसाउन खोज्ने, नसामा फसाउन खोज्ने, ड्रग्समा फसाउन खोज्ने यस्ता प्रयासहरु भइराखेका छन् । यसलाई हामीले अस्वीकार गर्न सक्नु पर्दछ र हामी नसामा होइन, देश बनाउने एउटा सचेत संकल्पका साथ अगाडि बढ्नु पर्दछ । यसका निम्ति युवा समुुदाय अत्यन्त सजगताकासाथ अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

युवा समुदायको १९ दिन लामो लगातारको संघर्षले राजतन्त्रलाई पछाडि फर्काएर विघठित संसद भंग गर्ने, खोसिएका जनअधिकार फिर्ता गर्ने र आफू फेरि अधिकारबाट, प्रत्यक्ष शासनबाट, अधिनायकबाट पछाडि फर्किन बाध्य बनाएको दिन । त्यसैकारण आज हामी सम्झिरहेका छौं र यस दिनलाई आज उत्सवको रुपमा मनाइरहेका छौं । यस दिनलाई हामी एउटा विजयको स्मरण, हाम्रो सौर्यको स्मरण गरिरहेका छौं । हामीले बिना द्धिविधा विभिन्न प्रकारका भ्रमहरुलाई आफैँले चिरेर, आफैँ सक्रिय भएर हाम्रो देश हामीले बचाउनुु पर्दछ, हाम्रो देश हामीले बनाउनुु पर्दछ, विदेश पलायन हुने प्रवृत्तितर्फ ढल्किने होइन, विदेशका झिलिमिलितर्फ होइन, यसै देशलाई हामीले झिलिमिलि मात्रै होइन, त्योभन्दा अझै सुुन्दर बनाउन सक्छौं, अझ राम्रो बनाउन सक्छौं, सम्पन्न बनाउन सक्छौं । ३० वर्षभित्र लोकतन्त्रमा पनि केही उतारचढावहरु भए, केही गलत प्रवृत्तिहरु देखा परे, केही गलत प्रवृत्तिहरु पनि झाँगिंए, तिनीहरुले भ्रम छरे र केही देशले अलमल भोग्नु पर्‍यो । तर, ती कुराहरुलाई अब छिचोल्दै हामी एउटा स्पष्ट बाटो र दृष्टिकोणका साथ अगाडि बढिरहेका छौं । त्यसकारण म आग्रह गर्न चाहन्छु, अलमलका साथ होइन, भ्रममा होइन, स्पष्ट दृष्टिकोणका साथ आजको युुवाले अगाडि बढ्न जरुरी छ । मैले विश्वास लिएको छु, देश बदल्ने र दुनियाँ बदल्ने तागत जनतामा हुन्छ । बच्चाबच्ची जनता हो, तर बच्चाबच्चीले केही गर्न त सक्दैन, बुढाबुढी पनि जनता नै हो तर बुढाबुढीले पनि धेरै गर्न सक्दैन, युवा उमेरमा हो जे गर्ने भनेको । त्यसकारण म युुवाहरुलाई भन्न चाहन्छु, तपाईंहरुले देश बनाउने संकल्प गर्नु पर्दछ, संकल्पलाई साकार रुप दिनुुपर्दछ । यदि आवश्यकता पर्छ भने संघर्षको मैदानमा उत्रिन तयार हुनुपर्दछ र हाम्रा अग्रजहरुले, हाम्रा पूर्खाहरुले जुन संघर्ष गरेर देशलाई यहाँसम्म ल्याएका छन् । आज ती उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्ने कुरामा हाम्रो आजका युवा पुस्ताको संकल्प र त्यसका निम्तिको सक्रिय प्रयास जरुरी छ । बिना संकल्प र बिना सक्रिय प्रयास हामी अगाडि जान सक्दैनौं । यसका निम्ति म युवाहरुलाई ढुक्क रहन आग्रह गर्न चाहन्छुु, कुनै भ्रममा नपर्नुस्, हामीले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशका दलाल तत्वहरु नेकपा (एमाले)का विरुद्ध खनिएका छन् । यत्तिकै होइन, हाम्रो राष्ट्रवादी अडानका कारणले, दृष्टिकोणका कारणले र हाम्रो संघर्षका कारणले, हाम्रो जनपक्षीयताको कारणले, लोकतान्त्रिक अभ्यास, आचरण, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्तिहरु हामीसँग भएवीत भएका छन् र दिनैपिच्छे अनेक प्रकारका भ्रम फिजाउन खोजेका छन् ।

हरेक कुरामा, हरेक दिन सरकार जान्छ, सरकार जान्छ… भनेर भन्न थालेका छन् । लोकतन्त्रमा लामो सरकार पाँच वर्षका लागि बन्छ । अनि यो तानाशाही त होइन, अधिनायकवादी व्यवस्था त होइन कि ५० वर्षका लागि कसैको वंशको शासन हुन्छ, सय वर्षका लागि हुन्छ, २ सय ५० वर्षका लागि हुन्छ, १ सय ४ वर्षका लागि हुन्छ भनेको जस्तो स्थिरता हामीले भनेको स्थिरता लोकतान्त्रिक स्थिरता हो, गतिशीलताको स्थिरता हो, जनताको अभिमतसहितको स्थिरता हो । यति बेला नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार एउटा संकल्पसाथ बनेको सरकार हो । यो स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । यसले त्यही स्थिरता र स्थायित्व दिन्छ र त्यही दिएर अगाडि बढिरहेको छ । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नु पर्दछ । त्यसैकारण नेकपा (एमाले)ले सरकार बनाउ, सरकार बचाउ भनेर कराएको छैन । नेकपा (एमाले)ले जहिले पनि चुनाव हेरेको हुन्छ । हामीले २०७० को चुनाव भन्यौ, २०७४ को चुनाव भन्यौ, २०७९ को चुनाव भन्यौ र २०८४ को चुनाव भनिराखेका छौं, मिसन ०८४ भनेका छौं । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, ढुक्कले मिसन, ०८४ मा लाग्नुुस् । सरकार चलाउने, सरकारको नेतृत्व गर्ने, सरकारमा सहभागि हुने, जे गर्नु पर्छ यहाँ, अहिले संसदको बनावटअनुसार देशलाई ठीक ढंगले अगाडि बढाउन सकेसम्मका प्रयासहरु नेकपा (एमाले)ले गर्नेछ । त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन, ०८४ मा ध्यान दिनुस् । मिसन, ०८४ एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने मिसन हो । त्यसबाट देश बन्छ, त्यसबाट समृद्धितर्फ देश जान्छ, त्यसबाट राष्ट्रिय एकता बन्छ । त्यसकारण हामी अनेक प्रकारका विविधताहरुको एकता खोज्छौं र समानतामा एकता खोज्छौं । यहाँ अनेक प्रकारका प्रयासहरु भइराखेका छन्, अनेक ढंगले साम्प्रदायिक विद्धेषहरु भड्काउने, नेपालीलाई फुटाउने र विभाजित गर्ने प्रयास भइराखेका छन् । जातका नाममा, धर्मका नाममा, भाषाका नाममा, संस्कृति, भूगोल र अनेक नाममा फुटाउने प्रयासहरु भइराखेका छन् । यस्ता कुुप्रयास र कुुचेष्टाहरुबाट हामी स्पष्ट हुनुपर्दछ र देशलाई एकताबद्ध बनाएर लोकतन्त्रको रक्षा गर्दै, संविधानको रक्षा गर्दै समृद्धिको बाटोमा देशलाई अगाडि बढाउनुु पर्दछ । त्यो काम तपाईंहरुले गर्न सक्नु हुन्छ, युुवाहरुले गर्न सक्नु हुन्छ । युवाको नेतृत्व कामबाट, योग्यताबाट, क्षमताबाट आन्दोलनको नेतृत्व, विकासको नेतृत्वबाट युवाको नेतृत्व स्थापित हुँदै जान्छ । म युवाहरुलाई आफ्नो नेतृत्व प्रष्ट र प्रकट रुपमा अगाडि बढाउनका निम्ति हार्दिक आग्रह गर्न चाहन्छु ।

अब म धेरै समय नलिऔं । धेरै समय लिनुभन्दा मैले तपाईंहरुलाई आग्रह गर्न चाहन्छु, म आज खासै बोल्ने मुडमा पनि थिइनँ, किनभने यो एउटा उत्सव हो, सेलेब्रेसन हो । यस सेलेब्रेसनलाई हामी त्यहीअनुरुप मनाउ भन्ने कुरा हो । यस सेलेब्रेसनमा जुट्न, खुशी हुन म युुवाहरुलाई आग्रह गर्न चाहन्छु ।

नेपाल महान् नेपाल हो । नेपाली जनता महान् नेपाली हुन् र तिनका सन्तान हाम्रा नयाँ पुस्ताहरु त्यस्तै महान् भएर निस्किने छन् र देशलाई अगाडि बढाउने छन् भन्ने मैले विश्वास लिएको छु । ढुक्क हुनुुहोस्, यसको नेतृत्व नेकपा (एमाले)ले बाटो नबिराइकन गर्नेछ र गर्न सक्षम छ । यति भनेर यस उत्सवका सम्बन्धमा, यस चाडका सम्बन्धमा, यस गौरवपूर्ण दिनको सम्बन्धमा फेरि हामीले एउटा नयाँ संकल्प गर्नु पर्नेछ, नयाँ संकल्प गरौं, स्पष्ट दृष्टिकोणका साथ हामी समृद्ध नेपाल सुखी नेपालीको सपना, जो राष्ट्रको आकांक्षा हो, त्यसलाई सफल पार्ने बाटोमा सिंगै देश एकजुट भएर अगाडि बढौं । त्यसका लागि हाम्रा युवाहरुले राष्ट्रव्यापी रुपमा आआफ्ना ठाउँहरुबाट नेतृत्व गर्नु पर्दछ । म युवाहरुलाई नेतृत्वका साथ अगाडि बढ्न आह्वान गर्दै तपाईंहरुमा धेरैधेरै शुभकामना व्यक्त गर्दै आफ्नो भनाई टुंग्याउँछु ।