काठमाडौं-नेकपा एमालेले सञ्चालन गरेको तीन महिने जरा केन्द्रित संठन निर्माण अभियानका क्रममा सङ्कलन गरिएको अभिलेकको गम्भीर अध्ययन र समीक्षा गर्ने भएको छ।
पार्टी केन्द्रबाट सञ्चालन गरिएको वडा केन्द्रित पार्टी निर्माण अभियानको अन्तिम समीक्षाका लागि देशभरबाट रिपोर्ट सङ्कलन गरिने संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो। कार्यक्षेत्रमा खटिएका पार्टी नेताको रिपोर्टलाई अध्ययन गरेर मात्र अभियानको अन्तिम निचोड निकाल्न सकिने भएकोले जिम्मेवारीमा खटिएका केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहसम्मका सबै नेताहरूबाट अभियानको विवरण माग गरिने ढुङ्गेलले बताउनुभयो ।
अभियानमा खटिएका नेताहरूबाट पार्टी सदस्यता सम्बन्धी कामको डिटेल रिर्पोट मागिने भएको छ । ‘पालिका, वडा र टोल तहसम्मका पार्टी कमिटीका अधिवेशनहरू के कति सम्पन्न भए, टोलमा पार्टी कमिटीहरू कति बने, टोल कमिटी कति नियमित परिचालित भएका छन्, सङ्गठनात्मक अराजकता र अवसरवादलाई परास्त गर्ने गरी कस्ता शुद्धीकरणका काम भए, कार्यकर्ता प्रशिक्षण कुन स्तरमा कति सम्पन्न भए, कति कार्यकर्ता सहभागी भए, पार्टीको नीति र नेतृत्वमाथि भइहरेको प्रायोजित मिथ्या प्रचारको प्रतिवाद गर्ने काम कति प्रभावकारी ढङ्गले अघि बढ्यो, तीन महिना अघि र अहिले कति फरक परेको छ, कार्यकर्तामा आत्मविश्वास जगाएर पार्टीलाई घरघर पुर्याउने र जनतामा आशा जगाउने काम कति भए, जनताका माग मुद्दा तथा समस्या समाधानमा अग्रसरता लिने र आर्थिक सामाजिक तथा सांस्कृतिक रूपान्तरणलाई तीव्रता दिने सवालमा कति काम गर्न सकियो भन्ने लगायतका विषयको डिटेले मागेका छौँ’, उहाँले भन्नुभयो ।
चालिस वर्ष मुनिका युवामा पहुँच बढाउने र युवा नेतृत्व विकासको योजनाबद्ध थालनी गर्ने काममा कति प्रगति भयो भन्ने विषय पनि केन्द्रले मागेको छ । त्यस्तै जनतासँग जनसंगठन अभियान कसरी अघि बढ्यो, वडासम्म जनसंगठनका कमिटी निर्माण, सदस्यता बिस्तार, प्रशिक्षण र सम्बन्धित समुदायका समस्या समाधानमा कति प्रगति भयो, पार्टी कार्यालयहरू कति व्यवस्थित भए, पालिका र वडा तहसम्म कति नयाँ कार्यालयहरू खुले, कार्यालयहरू नियमित सञ्चालनमा छन् कि छैनन्, अन्तरविरोधहरुको समाधान गरी आन्तरिक एकता कसिलो बनाउने काममा कति प्रगति भयो, कतिवटा कमिटीका समस्या समाधान गरियो भन्ने लगाएका विवरण पनि मागेर समीक्षा गरिने उहाँले जानकारी दिनुभयो ।
जिम्मेवारी नपाएका नेता, कार्यकर्ताको जिम्मेवारी व्यवस्थापनमा कति प्रगति भयो, पार्टीका अग्रज तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको सम्मानका कार्यक्रम कति भए, जनप्रतिनिधिहरूको प्रशिक्षण, परिचालन तथा गरेका कामको सकारात्मक प्रचारमा के कति गतिविधि भए, वडाको विकास र समृद्धिको खाका निर्माणमा कसरी ठोस काम अघि बढेको छ भन्ने लगायतका विवरण माग गर्ने पार्टी संगठन विभागले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । ती सबै विवरणलाई केलाएर आगामी योजना बनाइने पनि ढुङ्गेलले बताउनुभयो ।
प्रतिक्रिया