अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको जरा अभियान: कर्णालीमा गाउँसम्म संगठन सुदृढीकरण

एमालेको जरा अभियान: कर्णालीमा गाउँसम्म संगठन सुदृढीकरण


काठमाडौं-नेकपा एमाले कर्णालीले तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियानको काम सकेको छ।
गत माघदेखि चैत्र मसान्तसम्म सञ्चालन भएको सो अभियानले कर्णालीका गाउँ-गाउँमा पार्टी संगठनलाई थप सुदृढ बनाएको निष्कर्ष निकालिएको छ।

कर्णाली प्रदेश इञ्चार्ज गोरख बोगटीले अभियान अवधिमा आफ्नो कार्यक्षेत्रमा भए गरेका कामको विस्तृत लिखित प्रतिवेदन पार्टी महासचिव शंकर पोखरेललाई केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बुझाउनुभएको छ। महासचिव पोखरेललाई प्रतिवेदन बुझाउँदै प्रदेश इन्चार्ज बोगटीले अभियानका मुख्य उपलब्धि र देखिएका चुनौतीबारे संक्षिप्त जानकारी गराउनुभएको थियो ।
उहाँका अनुसार कर्णाली प्रदेशमा सञ्चालन भएको सो अभियानले पार्टीका स्थानीय कमिटीहरूलाई पुनर्गठन तथा सुदृढीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। अभियानका क्रममा नयाँ सदस्यहरूलाई पार्टीमा आकर्षित गर्नुका साथै कार्यकर्ताहरूलाई प्रशिक्षण र वैचारिक स्पष्टता प्रदान गर्ने काम पनि प्रभावकारी रूपमा सम्पन्न भएको छ।

केन्द्रीय सदस्यहरू भूगोल जिम्मेवारीमा खटिएर गाउँ तहसम्म पुगी कार्यकर्ता र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गरेका छन्। यसले पार्टी र जनताबिचको सम्बन्धलाई थप मजबुत बनाएको उहाँको भनाइ छ। अभियानका क्रममा स्थानीय स्तरका समस्या र आवश्यकताहरू पहिचान गरी पार्टीको आगामी नीति तथा कार्यक्रममा समावेश गर्न महत्त्वपूर्ण सुझावहरू सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो।

महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश इञ्चार्जबाट प्राप्त प्रतिवेदनको अध्ययनपछि अभियानको समग्र मूल्याङ्कन गर्ने र आवश्यक निर्देशन दिने बताउनुभयो। अभियानले आगामी दिनमा कर्णाली प्रदेशमा पार्टीको संगठनलाई थप क्रियाशील र बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।