जनकपुर-नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताउनु भएको छ।
शनिबार जनकपुरधाममा आयोजित एमालेको धनुषा आठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुयभो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘श्री ५ बा र श्री ५ नातीको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ। हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ ।’ वरिष्ठ उपाध्यक्ष पोखरेल पूर्वराजाको नाममा पुनःसत्तामा फर्कने चाहना बोकेका तत्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गर्नुभयो।
‘पूर्वराजा नागरिक हुन्। यदी उनलाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन्,’ वरिष्ठ उपाध्यक्ष पोखरेल पोखरेलले भन्नुभयो। पोखरेलले नेपाली कांग्रेससँगको सहकार्यको सन्दर्भमा व्यंग्यात्मक शैलीमा भने, ‘कांग्रेससँग अहिले हाम्रो सम्बन्ध मादल र हार्मोनियम जस्तो छ । मिठास त छ । तर, ताल पनि अलग–अलग । हामी सहकार्य गर्छौँ । तर, प्रतिस्पर्धा बिर्सिन्नौँ ।’ उहाँले सहकार्य र प्रतिस्पर्धा दुवैलाई सन्तुलनमा राख्दै संविधानको मूल मर्मलाई अघि बढाउनु पर्ने बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले विगत पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक प्रणालीबीचको तुलना गर्दै व्यापक विकास भएको दाबी गर्नुभयो। ‘पञ्चायतमा २५ हजार किलोमिटर सडक थियो । अहिले १ लाख १० हजार किलोमिटर पुग्यो । शिक्षा, स्वास्थ्य, सञ्चार र भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ । जनतालाई तथ्यका आधारमा बुझाउनु अहिलेको प्रमुख कार्य हो,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो।
कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज जुली कुमारी महतो, उमाशंकर अरगरीया, हरिनारायण महतोलगायत नेताहरूको उपस्थिती रहेको थियो । अधिवेशन तीन दिनसम्म जारी रहनेछ।
प्रतिक्रिया