काठमाडौँ-नेकपा एमाले केन्द्रीय सदस्य एवं सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले राजनीतिमा ‘झोले’ शब्दको अर्थलाई गलत रूपमा नबुझ्न आग्रह गर्नुभएको छ।
राजनीतिमा सक्रिय भएर कुनै पार्टीको नीति, विचार र सिद्धान्तलाई आत्मसात् गर्दै समाजको सकारात्मक परिवर्तनमा योगदान पुर्याउनु झोले हुनुको वास्तविक मर्म भएको उहाँको धारणा छ। ‘म राजनीति शास्त्रकी विद्यार्थी पनि हुँ, मैले राजनीतिमा झोले भनेको कुनै पनि राजनीतिक दलको नीति विचार र सिद्धान्तलाई आत्मसात् गरेर त्यसको कार्यकर्ता हुँदै समाजको सकारात्मक परिवर्तनको अभियानमा जोडिनु हो भन्ने बुझेको छु’, नगर प्रमुख ढकालले भन्नुभएको छ।
संवैधानिक सर्वोच्चतालाई स्वीकार गर्दै नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गएको नगर प्रमुख ढकालले उल्लेख गर्नुभएको छ। ‘जुन व्यवस्थामा बोल्न पाउने, अन्यायको विरुद्धमा आवाज उठाउन पाउने, प्रतिस्पर्धात्मक रूपबाट राज्यका सबै संरचनाहरूमा सहभागिता जनाउँदै नेतृत्व गर्न पाउने र रचनात्मक रूपले समाज संवृद्ध बनाउँदै अघि बढ्न पाउने अधिकार संवैधानिक रूपले स्थापित गरेका छौँ’, उहाँको धारणा छ।
आज हामीले स्थापित गरेको व्यवस्थामा नागरिकले स्वतन्त्र रूपमा विचार राख्न, अन्यायको विरुद्ध आवाज उठाउन, प्रतिस्पर्धात्मक रूपमा नेतृत्व गर्न र मन परेको दल रोज्न पाउने संवैधानिक अधिकार प्राप्त भएको उहाँले बताउनुभएको छ। ‘तसर्थ मैले रोजेको दल र मैले रोजेको नेतृत्वको झोला बोक्नु मेरो कर्तव्य र अधिकार दुवै हो भन्ने मैले बुझेको छु’, उहाँको भनाइ छ।
प्रतिक्रिया