काठमाडौं-नेकपा एमालेका सांसद गोपाल भट्टराईले मुलुकमा प्रतिगामीहरुको चहलपहल कायम रहेको बताउनुभएको छ।
सोमवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा रहेको बताउनुभएको हो। उहाँले प्रतिगामी शक्तिहरुको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा रहेपनि जनसहभागिता कमजोर भएसँगै असफल हुँदै गएको दाबी गर्नुभयो। जसरी गिरिबन्धु, यति, ओम्नी लगायतमा भ्रष्टाचारका कुराहरु आएको धेरै वर्ष भइसकेको भन्दै सांसद भट्टराईले त्यस अवधिमा सबैको सरकार बनेपनि त्यसको छिनोफानो गर्ने निकायहरुलाई जिम्मा दिने भन्दै प्रश्न गर्नुभयो। उहाँले जनतालाई भ्रममा पार्ने र लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। सांसद भट्टराईले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह गर्नेतर्फ भन्दा पनि प्राप्त उपलब्धीहरु जनतासम्म पुर्याउने गरी काम गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, ‘अहिले देशमा प्रतिगामीहरुको सलबलाहट कायमै छ। अर्कोतर्फ प्रतिनिधिसभा अबरुद्ध छ। प्रतिगामीहरु पूर्वराजाको आडमा राजसंस्था पुर्नस्थापनाको कुरा गरिरहेका छन्। सुरुमै हिंसात्मक गतिविधि शुरु गरे। तोडफोड गरे, हत्यासमेतमा उत्रिए। जनस्तरबाट व्यापक विरोध भएपछि शान्तिपूर्ण प्रदर्शन शुरु गरे। र त्यो पनि जनसहभागिता कमजोर भइरहेको अवस्थामा र असफल भइरहेको छ। तरपनि नेपाललाई अस्थिर बनाइराख्न चाहने शक्तिकेन्द्रहरु अझैपनि अस्थिरता सिर्जना गरिरहने पक्षमा छन्। त्यसैको आडमा लडखडाउँदै भएपनि प्रदर्शनलाई जीवित राख्ने मनस्थितिमा छन्। यसै अवधिमा संसदको बजेट अधिवेशन शुरु भएको छ। हामी अधिवेशनमा छौं। प्रतिपक्षका माननीयज्युहरुले प्रतिनिधि सभा अवरुद्ध गर्नुभएको छ । गृह मन्त्रालय अन्तर्गतको कर्मचारीले भ्रष्टाचार गर्यो त्यसैले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग छ। गृहमन्त्रीलाई कुनै आरोप लागेको छैन उजुरी पनि छैन भने राजीनामा माग्नु जायज हो र ? यदि छानविन गर्दैजाँदा गृहमन्त्रीसम्म पुग्यो भने उहाँ बच्नुहुन्न । बरु दोषीमाथिको छानविन प्रभावकारी होस् भन्ने कुरामा सरकार र सम्बन्धित पक्षलाई सचेत गराउनुपर्दछ। उता शिक्षा विधेयक असार १५ गतेसम्म पारित गर्नुपर्नेछ। शिक्षकहरुसँग सम्झौता भएको छ। अरु विधेयकहरु अगाडि बढाउनुपर्नेछ । मूल कुरा १५ गते प्रस्तुत भएको बजेट प्रतिनिधिसभामा छलफल अगाडि बढ्न सकेको छैन। बजेट र आर्थिक विधेयकहरु समयमा पारित भएनन् भने देश ठप्प हुन्छ। अझ अचम्म लाग्दो कुरा के छ भने अदालतले एउटा कसैलाई सजायँ तोक्छ केपी ओलीले ग¥यो । अदालतले सजायँ माफी गर्छ केपी ओलीले गर्यो। अख्तियारले कुनै कारबाही अगाडि बढायो केपी ओलीले ग¥यो । यस्तो सुन्दा अदालत, संवैधानिक निकायहरु सबै केपी ओलीकै कब्जामा छन् कि जसरी अभिव्यक्तिहरु आउने गरेका छन्। अहिले संसारका निर्वाचित सरकार प्रमुखहरुमा अमेरिकी राष्ट्रपति बढी पावरफुल देखिन्छन् उनलाई पनि बेला बेलामा अदालतले नियन्त्रण गर्दछ भने नेपालमा त्यस्तो सम्भव छ र ? अर्का विषयहरु गिरिबन्धु, यति, ओम्नी आदि यिनी कुराहरु आएका त धेरै वर्ष भइसके। भ्रष्टाचार हुन् भने सरकारहरु त सबैका बने त्यो छिनोफानो गर्ने निकायहरु छन् त्यतातिर लाग्ने कि सार्वजनिक खपतका लागि मात्र कुरा उठाउने ? यस्ता कुराले कहिँ पुगिँदैन। अहिले नेपाली जनताले के कुरा ठीक हो र के कुरा बेठीक हो भनेर छुट्याउनसक्ने अवस्था छैन। त्यसैकारण जनतालाई भ्रमित गर्ने र आन्दोलनकारी शक्तिहरु, लोकतन्त्रवादी शक्तिहरु नै एकअर्काप्रति हिलो छ्यापाछ्याप गरेर भ्रममा पार्ने जुन कामहरु भैरहेको छ त्यसबाट हामी पछि हटौं। अब अगाडिका कामहरु प्रतिगमनलाई निस्तेज पार्ने र लोकतन्त्रलाई स्थापित गरिराख्नेतर्फ छलफल गर्नु अहिलेको आवश्यकता हो। यस्तो हिलो छ्यापाछ्याले लोकतन्त्रले केही दिएन भन्ने सन्देश प्रवाह नगरौं, उपलब्धिहरु जनतासम्म लैजाउँ भन्ने आग्रह गर्दछु।’
उहाँले गृह मन्त्रालयअन्तर्गतको एउटा कर्मचारीले भ्रष्टाचार गर्यो भन्दैमा कुनै आरोपबिना गृहमन्त्रीको राजीनामा माग्नु जायज नभएको टिप्पणी गर्नुभयो।
प्रतिक्रिया