अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नेतृत्व गर्ने सामर्थ्य भएकाहरू नेतृत्व भित्रै छन् : खगराज अधिकारी

एमालेको नेतृत्व गर्ने सामर्थ्य भएकाहरू नेतृत्व भित्रै छन् : खगराज अधिकारी


पोखरा – नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अध्यक्ष केपी शर्मा ओली पछि एमालेको नेतृत्व गर्न सक्ने सामर्थ्य भएका नेताहरू विद्यमान नेतृत्व पङ्क्तिमा धेरै भएको बताउनुएको छ । शनिबार प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीले पोखरामा गण्डकी प्रदेशका पत्रकारको लागि आयोजना गरेको क्षमता अभिवृद्धि तालिमको उद्‌घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘नेकपा एमालेमा नेतृत्व गर्न सक्ने सामर्थ्य केपी ओली पछि विद्यमान नेतृत्व पङ्क्ति भित्रै जति भनेपनि हुनुहुन्छ । उहाँहरूलाई म सलाम गर्छु’ अधिकारीले भन्नुभयो । स्थायी कमिटी सदस्य अधिकारीले एमाले अध्यक्ष केपी ओली एमालेको मात्र नभएर देशको नेता भएको बताउुनभयो । ‘केपी ओली स्वयं अहिले देशको नेता हो नेकपा एमालेको मात्र होइन । राष्ट्रियताको पहरेदार हो’ उहाँले भन्नुभयो ।

एमालेको नेतृत्वको सरकार हुँदा विकासले गति लिने गरेको दावी उनले गरे । उनले एमालेले गरेका राम्रो कामको बारेमा सञ्चार माध्यम मार्फत जनता सामु पुर्‍याउन तथा गलत कार्य गरेको खण्डमा खबरदारी गर्न आग्रह गरे । पछिल्लो समयमा नकारात्मक विषयको प्रचार बढी हुने गरेको र भएका प्रगतिका विषय ओझेलमा पर्ने गरेको भन्दै सत्य कुरा बाहिर ल्याउनु नै मिडियाको धर्म होला भन्ने आफूले बुझेको अधिकारीको भनाइ थियो । पार्टी र जनसंगठनका कतिपय नेताहरु अधिवेशनको बेलामा मात्र सक्रिय बन्ने पदमा पुगेपछि सक्रिय नहुने गरेको देखिने गरेको तर्फ सङ्केत गर्दै उहाँले अधिवेशन मार्फत पदमा पुर्‍याउदा इन्साफ गरिएको छ छैन मनन गर्न समेत आग्रह गर्नुभयो ।
सङ्गठनमा गुटबन्दी गर्नपर्ने कुनै कारण नभएको भन्दै कुनै नेताको साख्य भन्दा पनि सिङ्गो सङ्गठनको साख्य बन्न सक्नुपर्ने औँल्याउनुभयो । विदेशमा बसेर नेपालको बारेमा मूल्याङ्कन गर्नेहरूबाट नेपाली समाज प्रभावित भइरहेको उहाँको भनाइ छ । पटक पटक नेपाली नागरिकता त्यागेकाहरूले विदेशमा बसेर नेपालको बारेमा मल्याङ्कन गर्न नसुहाउने र त्यस्ता भ्रम फैलाउनेहरूको पछि नलाग्न समेत उहाँले आग्रह गर्नुभएको छ । पछिल्लो समयमा १२ कक्षा पछि विदेश जाने र नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गर्ने कार्यले नेपालको सार्वभौमिकता र राष्ट्रियता माथि खलल भइरहेकोले त्यो भाष्यलाई चिर्दै देशमा भएका सम्भावनाका बारेमा मिडियाले सामाग्रीहरू प्रस्तुत गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीका अध्यक्ष इन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, एमाले प्रचार विभाग सदस्य रामकृष्ण ज्ञवाली, एमाले गण्डकी उपसचिव एवं प्रचार विभाग प्रमुख मञ्जु अधिकारी, प्रेस चौतारी नेपाल गण्डकी महासचिव आश गूरुङ लगायतले बोल्नुभएको थियो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकीको सहयोगमा तालिम आयोजना गरिएको हो ।