अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तरदेशीय अपराध नियन्त्रणमा सक्षम बनाइनेछ नेपाल प्रहरी: गृहमन्त्री गुरुङ

अन्तरदेशीय अपराध नियन्त्रणमा सक्षम बनाइनेछ नेपाल प्रहरी: गृहमन्त्री गुरुङ


काठमाडौं-गृहमन्त्री सुधन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्ने सक्षम निकायका रूपमा नेपाल प्रहरीलाई विकास गरिने बताएका छन् ।

७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा सम्बोधन गर्दै उनले अपराधको सञ्जाल भौगोलिक सीमाभन्दा बाहिर फैलिँदै गएकाले नेपाल प्रहरीको क्षमता विस्तार अपरिहार्य भएको बताए ।

गृहमन्त्री गुरुङले वि.सं. २०१२ मा प्रहरी ऐन जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रहरी दिवस संगठनको वार्षिक उत्सव मात्र नभई ७१ वर्ष लामो सेवा, त्याग र बलिदानको सम्मान भएको उल्लेख गरे । उनले कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने सम्पूर्ण अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

देशमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उनले विपद्का कठिन परिस्थितिमा प्रहरीको समर्पण महत्त्वपूर्ण रहेको बताए ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसपछि मनाङ, मुस्ताङ र बुढीगण्डकी क्षेत्रमा भएका बाढीका घटनाको स्मरण गर्दै उनले आफ्नै सहकर्मीले ज्यान गुमाउँदा वा बेपत्ता हुँदा समेत विचलित नभई उद्धारमा खटिने प्रहरीको धैर्य र समर्पणको सरकारले उच्च मूल्याङ्कन गरेको बताए ।

‘देशमा शान्ति सुरक्षा कायम गर्ने एवं अपराध नियन्त्रण गर्ने कार्यमा नेपाल प्रहरी खटिँदै आएको छ । यसका साथै विपद्को समयमा तपाईंहरूले निर्वाह गर्दै आएको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने, ‘आफ्नै सहकर्मीले ज्यान गुमाउँदा, बेपत्ता हुँदा समेत विचलित नभई खटिनुभएका तपाईंहरूको धैर्य र समर्पणलाई मैले उच्च मूल्याङ्कन गरेको छु ।’

अपराधले भौगोलिक सीमा नचिन्ने उल्लेख गर्दै गृहमन्त्री गुरुङले सीमापार अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्यलाई तीव्रता दिइएको जानकारी दिए ।

भारतको नयाँ दिल्लीमा हालै सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठक तथा भारतीय समकक्षीसँगको छलफलमा सूचना आदानप्रदान र आधुनिक प्रविधिको उपयोगमा जोड दिइएको उनले बताए ।

क्षेत्रीय सहकार्य र संयन्त्रबाट प्राप्त अवसरलाई नेपालको आन्तरिक सुरक्षा सुदृढ बनाउन प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले नेपाल प्रहरीलाई बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सक्ने क्षमतासहित अघि बढाउनुपर्ने बताए ।