अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ: मन्त्री भण्डारी

देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरूको महत्त्वपूर्ण भूमिका हुन्छ: मन्त्री भण्डारी


काठमाडौँ-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरूको महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विचार गोष्ठी तथा अग्रज सम्मान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली भाषा, साहित्य र संस्कृति प्रवद्र्धनमा प्रतिष्ठानले पुर्‍याउँदै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘देशको समग्र विकास र समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटो हुन्। भौतिक पूर्वाधारको विकास मात्रले समृद्धि हासिल हुँदैन, साँचो समृद्धि त मौलिकता, पहिचान र सिर्जनशीलताको संरक्षणबाट सम्भव हुन्छ।’

मन्त्री भण्डारीले नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझ सशक्त, समावेशी र यथार्थपरक संस्थाको रूपमा अगाडि बढाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत स्पष्ट गर्नुभयो उहाँले साहित्य, कला र संस्कृतिको विकास र संरक्षणलाई राष्ट्रिय गौरव र कर्तव्यको रूपमा लिनु पर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, ‘हामी जतिसुकै प्रविधिमा अघि बढे पनि सांस्कृतिक मूल्य र राष्ट्रिय चेतनाको संरक्षणबिना त्यो विकास दीगो हुन सक्दैन।’

कार्यक्रममा उहाँले सिर्जनात्मक साहित्य, मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सबै सरोकारवालाहरूबीच सहकार्यको खाँचो औँल्याउनुभयो । “हामीले आत्मगौरवका लागि हाम्रो पहिचान बोकेको संस्कृति, भाषा र कला जोगाउनैपर्छ,” उहाँले भन्नुभयो।
सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङठनद्वारा प्रतिष्ठानमा योगदान पुर्‍याएका अग्रज साहित्यकारहरूलाई सम्मान गरिएको थियो। साथै, नेपाली भाषा र संस्कृतिका समसामयिक चुनौतीहरू, नीति निर्माणको प्रभाव, सृजनात्मक स्वतन्त्रता, र भावी पुस्तामा यसको प्रभावबारे गम्भीर विमर्श गरिएको थियो।

गोष्ठीमा विशिष्ट साहित्यकार, प्राज्ञिक व्यक्तित्व, कलाकार, सरकारी अधिकारीहरू तथा युवा सर्जकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागितामार्फत अनुभवी तथा नयाँ पुस्ताबीच सर्जनात्मक विचार आदानप्रदान भएको आयोजकहरूले जनाएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना पश्चात् ६८ वर्षको यात्रामा संस्थाले नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई प्रवद्र्धन गर्नमा खेलेको भूमिकालाई बहसको केन्द्रबिन्दु बनाइएको कार्यक्रममा भनिएको थियो।