अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यूएनएफपिएको रिर्पोट : केही दम्पति आमाबाबु हुनबाट बञ्चित छन्,केहीलाई बाध्यताले आमाबाबु हुनु परेको छ

यूएनएफपिएको रिर्पोट : केही दम्पति आमाबाबु हुनबाट बञ्चित छन्,केहीलाई बाध्यताले आमाबाबु हुनु परेको छ



काठमाडौं – नेपाल लगायत विश्वमा नै घट्दो प्रजनन् दरका विषयमा बहस हुन थालेको केही वर्ष भइसकेको छ । तथापी प्रजनन्मा सुधार हुने लक्षण नेपालमा त छैन भने विकसित देशमा त यसको कुनै संकेत नै छैन । विश्वमा नै बढ्दो बाँझोपन र महंगो जीवनयापन आमाबाबु हुन बञ्चित गर्ने मुख्य कारण हुन् । त्यसैगरी परिवार नियोजन र प्रजनन् अधिकारका बारेमा अनविज्ञ हुँदा कतिपयलाई बाध्यताले थप सन्तानको आमाबाबु हुनु परेको छ ।
संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (यूएनएफपिए)ले नेपाल लगायत विश्वका १४ देशमा गरेको अध्ययनका आधारमा तयार गरेको ‘द रियल फर्टिलिटी’ रिर्पोटमा उल्लेख भए अनुसार हरेक ५ मध्ये एक दम्पतिले आफूले इच्छा गरेजति बच्चा जन्माउन नसकेको बताएका छन् । यसको मुख्य कारण यी जटिल कारणहरूमा( जीवनयापनका लागि बढ्दो खर्च, रोजगारिको असुरक्षा, प्रजनन् स्वास्थ्य सेवामा सिमित पहुँच, र विश्वव्यापी संकट जस्तै युद्द र जलवायु परिवर्तन र यसका असरहरू रहेका छन्।
आफूले चाहना गरे पनि बागमति र गण्डकी प्रदेशका महिलाहरु न्यून संख्यामा बच्चा जन्माउने गरेको प्रतिवेदनले औल्याएको छ । नेपालका विभिन्न प्रदेशहरूमा मानिसहरूले चाहेको परिवारको संख्या र वास्तविक परिवारको संख्या बीचको दुरि बढ्दै गएको देखिन्छ। रोजगारीको अशुरक्षा, वैदेशिक रोजगारीका कारण दम्पति साथमा नहुने, बालबच्चा हेरचाहमा समस्या र बढ्दो घर खर्चजस्ता कारणले सन्तान जन्माउने निर्णय गर्न अझ कठिन बनाएको प्रतिवेदनले औल्याएको छ ।
प्रतिवेदनले सार्वजनिक गर्ने क्रममा यूएनएफपिएकी नेपाल प्रतिनिधी वन योङ होङले भन्नुभयो, ‘विश्वभर धेरै मानिसहरू आफूले ईच्छा गरेको परिवारको संख्या बनाउन सकिरहेका छैनन्। नेपालको अवस्था पनि यो भन्दा फरक छैन । ’ कार्यक्रममा वन योङ होङले जनसङ्ख्या बढ्यो वा घट्यो भन्ने बहस होइन, यो त युवाहरूले आफूले कल्पना गरेको परिवार बनाउन सक्ने अनुकूल वातावरण र सहज अवसरहरूको उपलब्धताको कुरा हो। तलबसहितको पारिवारिक बिदा, प्रजनन स्वास्थ्य सेवामा सहज पहुँच, बाल हेरचाह सुविधा र सहयोगी जीवन साथीहरू कुनै विलासिता सवाल होइनन्, यी र आवश्यक आधारहरू हुन् भन्ने विषयमा उहाँको जोड थियो ।
प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालमा शहरीकरण, रोजगारीको अशुरक्षा, बढ्दो घर खर्च र कार्य स्थलमा असहज अवस्थाका कारण युवाहरूलाई बच्चासहितको सुरक्षित भविष्यको कल्पना गर्न नै कठिन भएको छ। विश्वव्यापी रूपमा ३१ प्रतिशत मानिसहरू आफूले चाहेको संख्यामा सन्तान जन्माउन नसकेको बताउँछन् भने १२ प्रतिशतले आफूले चाहेको भन्दा धेरै सन्तान भएको बताए।
नेपालको सन्दर्भमा वैदेशिक रोजगारीका कारण दम्पति अलग रहनुपर्ने अवस्था र बच्चाको हेरचाह सम्बन्धी लैङ्गिक मान्यताहरूले सन्तान जन्माउने निर्णयलाई झन् जटिल बनाइदिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बागमती प्रदेश जस्ता ठाउँहरूमा आफुले ईच्छा गरेको भन्दा कम सन्तान जन्मिने गरेको देखिन्छ भने मधेस प्रदेश जस्ता क्षेत्रमा मानिसहरूले आफूले चाहेकोभन्दा बढी बच्चा जन्माएको प्रतिवेदनले जनाएको छ ।