काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ‘जनसंगठन’ भनेको नेकपा एमालेको ब्याड भएको बताउनुभएको छ।
नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो।
नेकपा एमाले उपाध्यक्ष समेत रहनुभएका पौडेलले एमालेलाई राष्ट्रिय शक्ति बनाउनका लागि जोड दिनुभयो। अर्थमन्त्री पौडेले भन्नुभयो, ‘जनसंगठन भनेको नेकपा एमालेको ब्याड हो। यसमा स्वास्थ्य बिरुवा हुर्काउँदा मात्र एमालेलाई राष्ट्रिय शक्ति बनाउन सकिन्छ।’

अर्थमन्त्री पौडेले एमाले पार्टी र जनसंगठनबीचको समन्वयमा देखिएका अफठ्याराहरुलाई सहजिकरण गरेर संगठनको भूमिकालाई कसरी प्रभावकारी रुपमा स्थापित गर्ने भन्ने विषयमा स्पष्ट पार्नुभयो।
बैठकमा हालसालै महाधिवशेन सम्पन्न भएका १६ वटा जनसंगठनका इन्चार्ज, अध्यक्ष,निवर्तमान अध्यक्ष र महासचिव सहभागी छन् । पार्टी स्थायी कमिटीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नुहुनेछ। नयाँ नेतृत्वलाई संगठन विस्तार,पार्टी र सरकारले गरेका राम्रा कामहरु जनता समक्ष पुर्याउने,मिसन ०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यन्वयन आदिका बारेमा प्रधानमन्त्रीले प्रष्ट पार्नुहुने ढकालले जानकारी दिनुभयो।
आजको बैठकबाट निवर्तमान अध्यक्षहरुलाई विदाइ र नयाँ निर्वाचित अध्यक्षलाई स्वागत पनि गरिने ढकालले जानकारी दिनुभयो । एमालेका २३ जनसंगठन मध्ये समयअवधि पुगेका १६ वटा जनसंगठनको महाधिवेशन सकिएको छ भने बाँकी ७ वटाका महाधिवेशनहरु सुरु हुने चरणमा छन्।
प्रतिक्रिया