सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयारीका लागि नगरवासी, राजनीतिक दल,विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । नगरपालिकाले आगामी वर्ष सञ्चालन गर्ने योजनाका सम्बन्धमा सार्वजनिक रुपमा राय सुझाव माग गरेको हो । नगरप्रमुख मोहनमाया ढकालले सामाजिक सञ्जाल मार्फत नगरपालिकाको विकास,समृद्धि,सेवा प्रवाह आदिलाई प्रभावकारी बनाउन नागरिक तहको सुझाव माग गर्नु भएको छ । यस अघि वडा कार्यलयहरु मार्फत विभिन्न टोल विकास संस्थाहरुसँग योजनाहरु माग गरिएको थियो ।
नीति कार्यक्रम र बजेटको तयारीका चरणमा रहेकोले रचनात्मक सुझाव आएमा तिनलाई प्राथमिकताका आधारमा समेटिने नगरपालिकाले जनाएको छ । ढकालले उल्लेख गरे अनुसार नगरपालिकाको दिगो विकासका लागि नगरबासीको सहभागिता अपरिहार्य भएको र नीति कार्यक्रममा सबैको अपनत्व गराउनका लागि पनि सुझाव माग गरिएको हो । नगरपालिकाले आगामी १० गते नगरको नीति कार्यक्रम तथा बजेट पेश गर्ने जनाएको छ ।
नगरपालिकालाई सुझाव दिन चाहनेहरुले नगप्रमुखको सचिवालयको पेज वा पैसा नलाग्ने नम्बर १८१०५०००२५२ मा फोन गरेर टिपाउन सकिने व्यवस्था गरेको छ । प्रमुख ढकालको सचिवालयको पेजमा नीतिगत सुझावका लागि यसरी आवह्न गरिएको छ
वीरेन्द्रनगरको सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा नगरवासीहरुको रचनात्मक सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरिएको छ । वीरेन्द्रनगरको समृद्धि र दिगो विकासका लागि नागरिकको सहयोग र अर्थपूर्ण सहभागीता अपरिहार्य हुन्छ।अहिले वीरेन्द्रनगर नगरपालिका आगामी आर्थिक बर्ष २०८२र८३ को नीति तथा कार्यक्रमको तयारीको क्रममा छ। आगामी आर्थिक वर्षमा नगरपालिकाले के(कस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दा राम्रो होला यहाँहरुको रचनात्मक सुझावको लागि अनुरोध छ। हजुरहरुको सुझाव यस सचिवालयको फेसवुक पेजमा कमेन्ट मार्फत वा हेलो मेयर टोल फ्री नम्बरमा कल गरेर राख्न सक्नुहुनेछ। साथै नगरभित्रको विकास निर्माण र सार्वजनिक सेवा प्रवाह सम्बन्धि कुनैपनी सल्लाह,सुझाव र गुनासो भएमा हेलो मेयर टोल फ्री नम्बर १८१०५०००२५२मा कार्यालय समयमा फोन गर्न सक्नुहुनेछ यो नम्बरमा फोन गर्दा शुल्क लाग्दैन ।
नगर प्रमुखको सचिवालय
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
प्रतिक्रिया