सिन्धुली- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले झगडाले होइन, समृद्धिले देश बन्ने बताउनुभयो।
एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को दोस्रो बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै ज्ञवालीले नेपालले छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले नेपाललाई अस्थिरता, विभाजन र टकरावको राजनीति होइन, स्थायित्व, विकास र सहकार्यको बाटो आवश्यक रहेको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो “नेपालले चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभ सम्झौता गरिसकेको छ। यदि भारतबाट पनि यस्तै प्रस्ताव आउँछ भने हामी खुलेर स्वागत गर्न तयार छौं।”
ज्ञवालीका अनुसार चीन र भारत जस्ता विश्वका प्रमुख अर्थतन्त्रसँग सहकार्य गर्दै मात्र नेपालले आर्थिक विकासको गति लिन सक्छ।
उहाँले वर्तमान सरकारले जनतालाई चरम निराशाबाट निकाल्ने प्रयास गरिरहेको बताउनुभयो । सरकारले जनताा आकांक्षा सम्बोधन गर्न र उनीहरुमा भएको निराशा चिर्न ठूलो मेहनत गरिरहेको उहाँको भनाइ छ । माओवादीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो “३२ सिट मात्र जितेको पार्टीले विदेशीको इशारामा काम गरिरहेको देखिन्छ । ”
त्यस्तै, उहाँले २०७९ मा एमालेले नन्दकिशोर पुनलाई राष्ट्रपति बनाउने प्रस्ताव राख्दा प्रचण्डले त्यसलाई अस्वीकार गरेको पनि खुलासा गर्नुभयो। “विदेशी चाहनाअनुसार निर्णय गर्ने प्रवृत्तिले राष्ट्रलाई आत्मनिर्भर बनाउँदैन,” उहाँले भन्नुभयो।
ज्ञवालीले माओवादी प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको र देश विकासमा बाधा पुगेको टिप्पणी गर्दै एमालेभित्र अवसरको भरमा आएको प्रवृत्तिले थप चुनौती सिर्जना गरेको बताउनुभयो।
बैठकमा एमाले सिन्धुलीका इन्चार्ज मनोज जंग थापाले पार्टीमाथि भएको विभिन्न आक्रमणका बाबजुद संगठन अझै लेनिनवादी सिद्धान्त, विधि र पद्धतिमा दृढ रहेको बताउनुभयो। उहाँले हालै पार्टीमा २ हजारभन्दा बढी नयाँ सदस्यहरू थपिएको र संगठन जनआकर्षणको केन्द्र बनेको दाबी गरे।
कार्यक्रममा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै समूहगत छलफलबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएको प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिनुभयो।
प्रतिक्रिया