सुर्खेत-वीरेन्द्रनगर नगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकतमा राख्दै आकर्षक नारासहित विभिन्न १० वटा कार्यक्रम अघि बढाएको छ। नगरप्रमुख मोहनमाया ढकालले आज प्रस्तुत गरेको नीति कार्यक्रममा यस्ता कार्यक्तमहरु प्रष्तुत गरिएको हो।
नगरसभाको जारी बैठकमा नगरप्रमुख ढकालले प्रस्तुत गरेको नीति कार्यक्तममको बुँदा नम्बर १३४ देखि १४४ सम्म कृषि क्षेसँग सम्बन्धित आकर्षक नारा सहितका कार्यक्रम राखिएको छ। जसअनुसार ‘वीरेन्द्रनगरको अठोट, पकेट क्षेत्रमा जोड’सिंचाईमा लगानी,कृषकलाई आम्दानी,कृषिजन्य वश्तुको आयात घटाँउ, किसानको आम्दानी बढाँउ लगायतका कार्यक्रम राखिएको छ।
नगरपालिकाले यस अघि नै विभिन्न वडामा प्रवद्र्धन गर्दै आएका पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने र पकेट क्षेत्र विस्तार गर्ने कार्यक्तम राखिएको छ। यसैगरी नगरपालिका क्षेत्रमा रहेका खेतियोग्य जमिनमा सिंचाइको सुविधा बढाएर उत्पादन वृद्धि गर्ने र सो बाट किसानको आम्दानी बढाउने लक्ष्य नगरपालिकाले राखेको छ। यस्तै कृषिजन्य आयातलाई न्यून गरेर स्थानयी उत्पादनको उपभोगमा नीति कार्यक्रमले जोड दिएको छ।

प्रमुख ढकालले प्रस्तुत गरेको नीति कार्यक्रम अनुसार साना किसान पहिचान गरेर उनीहरुलाई प्रवद्र्धनमा विशेष प्राथमिकता दिने कुरा उल्लेख छ। उन्नत जातका बीउ र प्रविधि उपलब्ध गराउने उल्लेख छ। यस कार्यक्रमलाई नगरपालिकाले साना किसानको ‘पहिचान,विपन्नलाई अनुदान’ भन्ने नारा दिएर अघि बढाएको छ। नगरपालिकाले अर्गानिक खेतीलाई प्रोत्साहन गर्दै विषदीमुक्त सहरको परिकल्पना गरेको छ। नगरपालिकामा सागसब्जी र फलफूलमा भइरहेको विषादी र परीक्षणलाई अझ तिव्रता दिने उद्धेश्यले ‘वीरेन्द्रनगरको रहर,विषादीमुक्त सहर’ कार्यक्रम अघि बढाउने भएको छ। जलवायु परिवर्तनबाट रैथानी बालीहरुमा भइरहेको क्षतिलाई नीति कार्यक्रमले सम्बोधन गर्ने प्रयास गरेको छ। जलवायु परिवर्तनको असरबाट किसानले लगाएका बालीलाई सुरक्षित गर्न अतिवृष्टि तथा अनावृष्टिबाट हुन सक्ने क्षतिलाई रोक्नका लागि ‘वीरेन्द्रनगरको खेती,जलवायु मैत्री प्रविधी’ भन्ने कार्यक्रम अघि सारेको छ।
नगरपालिका भित्रका परम्परागत र रैथाने बालीहरुलाई संरक्षण गर्न नगरपालिकाले विशेष पहल गर्ने घोषणा नीति कार्यक्रममा समेटिएको छ। यो कार्यक्रमका लागि रैथाने बीउ स्थानीय कृषक समुह तथा सहकारी मार्फत वितरण गर्न ‘बीउमा परनिर्भरता बढाउँ,स्थानीय बीउ बचाउँ’ कार्यक्रम अललम्बन गर्ने नीति नगरपालिकाले लिएको छ।
नगरपालिकाले नगरका सहरी क्षेत्रभित्र हरियाली कायम गर्न,छतको उपयोग गर्दै छतमा नै तरकारी फलाउने कार्यक्रम अघि सारेको छ। प्रमुख ढकालले पेश गर्नु भएको कार्यक्रममा ‘हाम्रो सहर,कौशी खेतिको रहर’ भन्ने कार्यक्रम अघि सारिएको छ। नगरपालिका भिबको जमिनलाई पूर्ण रुपमा सदुयोग गर्ने नीति नगरपालिकाले लिएको छ। जस अनुसार कसैले पनि जमिन बाँजो नराख्ने,आफूले कमाइ गर्न नसक्ने अवस्थामा अरुलाई भाडामा दिएर भए पनि जमिनको सदुपयोग गर्ने नीति नगरपालिकाले अघि सारेको छ। यसका लागि ‘जमिन बाँझो नराखौं,सक्नेलाई खेती गर्न दिऔं ’ भन्ने कार्यक्रम अघि सारिएको छ। नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका ‘रिटर्नी ’युवा हरुलाई लक्षित गरेर ‘विदेशिने युवा घटाँउ,स्वदेशमै रोजगारी बढाउँ’ कार्यक्रम मार्फत यस्ता युवालाई पुँजी र प्रविधिमा सहयोग गर्ने नीति अवलम्बन गरेको छ।
किसानले उत्पादन गरेका कृषिजन्य वश्तुको बजारिकणमा नगरपालिकाले विषेश चासो राखेर सम्बोधनको प्रयास गरेको छ। ढकालले प्रष्तुत गरेको नीति तथा कार्यक्रममा ‘स्थानीय उत्पादनको उपभोग,बजारिकरणमा सहयोग’ भन्ने नारा सहित कृषि हाट बजारको स्थापना तथा संकलन केन्द्र र सहकारीको माध्यमबाट बजारिकरणमा सहयोग गर्ने नीति नगरपालिकाले लिएको छ।
नगरपालिकाको नीति तथा कार्यक्रम सुनिरहेका हेरिरहेका नगरवासीले यस्ता कर्णप्रिय नारा दिएर प्रष्तुत गरेका कृषिसँग सम्बन्धित यी नाराहरु कसरी कार्यन्वयन गर्ला भनेर स्थानीबासीले जिज्ञासा पनि राखेका छन्।


प्रतिक्रिया