अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामेछापको भटौली खोला पुलमा बाढीको क्षति,काठमाडौं आउने बैकल्पिक मार्गमा समेत अवरोध

रामेछापको भटौली खोला पुलमा बाढीको क्षति,काठमाडौं आउने बैकल्पिक मार्गमा समेत अवरोध


रामेछाप – सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ । कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् ।

शुक्रबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४, पकरबास जोड्ने उक्त पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुईपांग्रेबाहेक अरू सवारीसाधन चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो खुलाउने प्रयास जारी छ ।”

पुल जोखिममा रहेको थाहा पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिएको थियो ।

शुक्रबार रातिको वर्षाले बनाइएका संरचना समेत बगाएको स्थानीय केदारप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्ण पौडेलले बाढीले कटान सुरु गरेपछि सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएका कारण यो अवस्था आएको बताउनुभयो ।

जिल्लाका तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौं वैकल्पिक मार्गका रूपमा समेत प्रयोग गरिँदै आएको छ । गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुंगाका धेरै सवारीसाधन यही बाटो भएर राजधानी आवतजावत गरेका थिए ।

हाल पनि खुर्कोटको पुलमा १५ टनभन्दा बढी भारवहन सवारीसाधन यही बाटो भएर जिल्ला सदरमुकाम मन्थली भित्रने र काठमाडौं तथा तराईका विभिन्न भागमा आवतजावत गरिरहेकामा अहिले सबै आवागमन रोकिएको छ । रासस