काठमाडौँ-प्रतिनिधिसभाको आज दिउँसो एक बजेका लागि बोलाइएको बैठकअघि सभामुख देवराज घिमिरेले दुई छुट्टाछुट्टै बैठक बोलाउनु भएकाे छ।
सभामुख घिमिरेले बिहान ११ बजे प्रमुख ५ दलका प्रमुख सचेतक र कानुन न्याय तथा संसदीय मामिला मन्त्री सहितको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बाेलाउनु भएकाे उहाँकाे सचिवालयले जनाएकाे हाे। त्यस्तै त्यो बैठक सकिएपछि साढे ११ बजे सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएकाे छ।
दिउँसो १ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।
आजै सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।







प्रतिक्रिया