काठमाडौं-पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र साह (बालेन) साझा राष्ट्रिय एजेन्डा तयार नगरी भारत भ्रमणमा गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
भारतसँगको द्विपक्षीय सम्बन्ध महत्त्वपूर्ण भए पनि भ्रमणअघि राजनीतिक दलहरूसँग छलफल गरेर राष्ट्रिय सहमतिको एजेन्डा बनाउन नसकेको खनालको भनाइ छ। साझा एजेन्डा तय भएको भए भारतसँग हुने छलफल र सम्झौता थप स्पष्ट तथा प्रभावकारी हुने उनले बताएका छन्।
भारतीय समाचार संस्था एएनआईसँग आइतबार कुरा गर्दै खनालले प्रधानमन्त्री साहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुन विषयमा छलफल गर्ने र कस्ता सम्झौता गर्ने भन्नेबारे अन्योल रहेको टिप्पणी गरे।
‘नेपालका प्रधानमन्त्रीले देशका लागि साझा एजेन्डा तयार गर्नुपथ्र्यो। त्यसो भएको भए राम्रो हुन्थ्यो । तर, उहाँले त्यसो गर्नुभएन। त्यसैले भारतीय प्रधानमन्त्रीसँग के विषयमा छलफल गर्नुहुन्छ वा कस्तो सम्झौता गर्नुहुन्छ भन्ने कसैलाई थाहा छैन,’ उनले भने।
खनालले नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ बनाउन दुवै देशका साझा चासो र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। दुई देशबीच धेरै अपेक्षा रहे पनि सम्बन्धमा केही असहजताका विषय रहेको उल्लेख गर्दै उनले तिनको समाधान खोज्नुपर्ने बताए।
उनका अनुसार नेपाल–भारत सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व र असल छिमेकीपनका पाँच सिद्धान्तका आधारमा अघि बढ्नुपर्छ । दुवै देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ छ।
‘नेपाल र भारत अत्यन्त निकट र घनिष्ठ छिमेकी हुन् । हामीबीच सौहार्दपूर्ण सम्बन्ध हुनुपर्छ र व्यापक किसिमको सहकार्य पनि विस्तार गर्नुपर्छ,’ खनालले भने।
प्रधानमन्त्री साह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ सम्म दुईदिने भारत भ्रमणमा छन्। गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि यो उनको पहिलो भारत भ्रमण तथा पहिलो द्विपक्षीय विदेश भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा नेपाल-भारत सम्बन्धका समग्र पक्षका साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ।



प्रतिक्रिया