अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँ नेपाली समाजमा मेलमिलाप र पुन:मिलनकाे पर्व: सभामुख घिमिरे

दसैँ नेपाली समाजमा मेलमिलाप र पुन:मिलनकाे पर्व: सभामुख घिमिरे


काठमाडौं-प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दसैँ नेपाली समाजमा मेलमिलाप र पुन:मिलनको पर्वका रूपमा स्थापित भएको बताउनुभएको छ।

बडा दसैँ, २०८२ को शुभकामना दिनुहुँदै उहाँले सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको प्रतीकको रुपमा रहेको यस पर्वले सबैमा नयाँ उमंग, उत्साह र सद्भावको भाव जागृत गरोस् भनि कामना पनि गर्नुभएको छ। 

दसैँलाई शक्ति, सत्य र सदाचारको विजयको प्रतीकका रूपमा लिइन्छ। यस पर्वमा दश दिनसम्म दुर्गा भवानीको आराधना गर्ने प्रचलन छ। घटस्थापनादेखि सुरु हुने यो पर्व नवदुर्गा माताको पूजाआजासहित सम्पन्न हुन्छ। विजयादशमीको दिन देवी दुर्गाले दानवीय शक्तिमाथि विजय प्राप्त गरेको तथा रामले रावणमाथि जित हासिल गरेको धार्मिक आस्था रहिआएको छ।

त्यसैले यो पर्वले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरी शक्तिमाथि दिव्य शक्तिको विजयको सन्देश दिने उहाँको भनाइ छ। 

टाढाटाढा रहेका परिवारजन एकैठाउँमा भेला भई टीका, जमरा र आशीर्वाद आदानप्रदान गर्ने परम्पराले पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउँछ। साथै, दसैंले विभिन्न जातजाति, भाषा र भौगोलिक क्षेत्रका नेपालीहरूलाई साझा संस्कारले एकतामा बाँध्ने कार्य गर्दै आएको छ। 

सभामुख घिमिरेले दसैंको पूर्वसन्ध्यामा नेपाली नवयुवाहरूको विद्रोहका कारण देखिएको अशान्तिलाई शान्तिमा रुपान्तरण गर्न हामी सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिनुभएको छ। 

विद्रोहका क्रममा जीवन गुमाउनुभएका नागरिकहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले नष्ट भएका संरचना र क्षतिग्रस्त भएका निजी लगानीहरूको पुनर्निर्माणमा राज्य र समाज दुवैको साझा भूमिका रहने विश्वास पनि लिनु भएको छ। 

‘युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन र पारदर्शितामाथि केन्द्रित छन्। हाम्रो संविधान संशोधनीय दस्तावेज भएकोले ती मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव छ। लोकतान्त्रिक अभ्यास र संसदीय सर्वोच्चताको बाटोबाट मात्र दिगो समाधान खोज्न सकिन्छ। यही बाटोले मुलुकलाई अँध्यारो सुरूङबाट उज्यालोतर्फ लैजानेछ भन्नेमा म दृढ छु’, सन्देशमा भनिएको छ।