काठमाडौं-भारतको दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह आइतबार नयाँदिल्ली पुगेका छन्। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सांस्कृतिक झाँकीसहित स्वागत गरेका छन्।
प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानबाट आइतबार दिउँसो नयाँदिल्ली पुगेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत पुगेका शाहलाई विमानस्थलमा विभिन्न सांस्कृतिक झाँकी र स्थानीय नृत्य प्रस्तुत गरी स्वागत गरिएको थियो।
विमानस्थलबाट प्रधानमन्त्री शाह मर्सिडिज गाडीमा नयाँदिल्लीस्थित होटल ताजमहल प्रस्थान गरेका छन्। त्यहाँ आइतबार साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। जयशंकर प्रधानमन्त्री शाहलाई भेट्न होटलमै पुग्नेछन्।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी तथा सञ्चारकर्मी सहभागी छन्। निजी क्षेत्रबाट ५२ सदस्यीय उद्योगी–व्यवसायीको टोली पनि भ्रमणमा सहभागी भएको छ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। दुई प्रधानमन्त्रीबीच छुट्टै भेटवार्ता पनि हुनेछ।
वार्ताका क्रममा नेपाल–भारत सम्बन्धको समग्र समीक्षा गर्दै व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने कार्यक्रम छ।
भ्रमणका क्रममा दुई देशबीच ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी छ। त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ।
प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। राष्ट्रपति भवनमा हुने भेटपछि उनी सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनेछन्। भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह साँझ ६ः३५ बजे नेपाल फर्कने कार्यक्रम रहेको छ।













प्रतिक्रिया