अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० इन्च लामो सियोले जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…

१० इन्च लामो सियोले जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…


भक्तपुर-आज बिहानैदेखि सर्वसाधारण मध्यपुरथिमिमा सिन्दूर खेल्दै देवीदेवताका खट जात्रा गर्दै बिस्का जात्रा मनाइरहेका थिए। तर मध्याह्नदेखि भने बोडे क्षेत्रमा भीड बढ्न थाल्यो।

केहीक्षणमै बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासमा सर्वसाधारण खचाखच हुन थाल्यो। बिस्केट जात्राका अवसरमा हरेक वर्षको वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न १२ बजेसम्म भीड लागिसकेको थियो।

दिउँसो २ः३० बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिसहरू हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो। बीचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताका मन्दिरमा पुगेर पूजा गर्दै आइपुगे, २९ वर्षीय सुजन वाग श्रेष्ठ।

त्यसपछि बोडेका स्थानीय वासिन्दाले जयजयकार गरे । पाटीमा बनाइएको मञ्चमा उक्लिएपछि यसअघि १२ पटक जिब्रो छेडाइसकेका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाहरू, मञ्चमा उक्लिए । जिब्रो छेड्न तयार भएका सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतलाई सम्झँदै धूप बत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो फलामको सुइरोले हजारौँ मानिसहरूकै अगाडि दिउँसो ठीक ३ बजे सुजनको जिब्रो छेडिदिए । उनले जिब्रो छेड्दा आँखा चिम्म गरे पनि हजारौँको होहल्लामा उत्साहित हुँदै सबैतिर फर्केर हात हल्लाए । हात हल्लाएर नमस्कार गर्दा जयजयकारको आवाज सुनियो । जुन कुनै चर्चित सेलिब्रेटी देख्दा दर्शकले गरेको हुटिङभन्दा कम थिएन ।

त्यसपछि सबैलाई नमस्कार र अभिवादन गर्दै चन्द्राँकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर निस्किए सुजन, सँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे । त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाइदेखि स्थानीय दिलकृष्ण प्रजापतिसमेतले चौथो पटक जिब्रो छेडाएका सुजनसँगै हिँडेर हौसला दिइरहे ।

महाद्वीप बोकेर सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न देवीदेवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्‍याइयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्वीपलाई मन्दिर बाहिर राखेर सुजन भित्र प्रवेश गरेपछि जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो । हजारौँको भीड विस्तारै तितरवितर भयो ।

जिब्रो छेडाएपछि सुजनले भने, “बुबाले जिब्रो छेडाउँदा प्रायः म सधैँ सँगै हुन्थे, उनले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो, त्यही भएर आँट आयो । सबैले जयजयकार गरेको देख्दा निकै रहर लाग्थ्यो, रहर पूरा गरेँ । यस वर्ष पनि जात्रालाई निरन्तरता दिन चौथो पटक जिब्रो छेडेर महाद्वीप बोकेर बोडे देश घुम्न पाउँदा खुसी छु ।”

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्ति निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाउने चलन छ । माटो लगाएपछि जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गर्नुपर्छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएपछि घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहेको यसअघि नौ पटक जिब्रो छेडाएका बुद्धकृष्णले बताए ।

किम्वदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घुँघरु बाँधिदिएर बलेको महाद्वीप काठको गह्रुँगो भारी बोकाएर बोडे घुमाए ।

कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा पूरा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किम्वदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अघि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायम छ ।

तर यो कथनलाई मान्न तयार छैनन् बुद्धकृष्ण । उनी भन्छन्, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिशाच कोही नभई नील बाराहीका देवगण हुन् । जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर भ्रम फैलाउन नहुने । जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षस होइनन्, देवगण हुन् भन्ने सबैलाई बुझाउनु जरुरी छ ।”