अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनधिकृत रूपमा कब्जा गरिएका जग्गा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

अनधिकृत रूपमा कब्जा गरिएका जग्गा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम


काठमाडौँ-त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ३५ दिनभित्र ती सम्पत्ति फिर्ता गर्न अल्टिमेटम दिएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार वैशाख २०८३ वैशाख ४ गते शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै त्रिविले यस्तो अल्टिमेटम दिएको हो।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति–२०८१’ ले तयार पारेको प्रतिवेदनमा विश्वविद्यालयका विभिन्न स्थानमा रहेका जग्गा तथा सम्पत्तिहरू प्रचलित कानुन र विश्वविद्यालयको ऐन–नियम विपरीत कब्जा गरिएको तथ्य फेला परेपछि उक्त कदम चालिएको जनाइएको छ।

प्रतिवेदनअनुसार केही व्यक्ति, निजी कम्पनी, संघ–संस्था तथा निकायहरूले विश्वविद्यालयको भोगाधिकारमा रहेका जग्गाहरू अनधिकृत रूपमा नियन्त्रण र प्रयोग गरिरहेका छन्।

त्रिवि प्रशासन महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल सरकार र विभिन्न दाताहरूले विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि उपलब्ध गराएका जग्गा तथा अचल सम्पत्तिहरू (प्रतिवेदनमा उल्लेख भएका वा नभएका) यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गरी/गराई आधिकारिक रूपमा विश्वविद्यालयलाई फिर्ता गर्नुपर्नेछ ।’

विश्वविद्यालयले तोकिएको समयसीमाभित्र जग्गा फिर्ता नगरेमा प्रचलित कानुन र नियम अनुसार कारबाही अगाडि बढाइने समेत स्पष्ट पारेको छ ।