अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठन माथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठन माथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति


काठमाडौं-नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुकुमबासीमाथि जबर्जस्ती उठीबास लगाएको भन्दै सरकारको विरोध जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उचित विकल्पबिना घर भत्काउने कार्य अमानवीय भएको उल्लेख गर्दै यस्तो कदमले सीमान्तकृत समुदायको राज्यप्रतिको विश्वास कमजोर बनाउने चेतावनी दिएको छ।

नेकपाले सुकुमबासी व्यवस्थापनसँगै बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। नयाँ सरकार गठनसँगै जनतामाथि आर्थिक भार थपिएको दाबी गर्दै उसले जनअपेक्षा अनुसार सुशासन र समृद्धि दिनुपर्नेमा उल्टै समस्या बढेको आरोप लगाएको छ।

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयप्रति पनि नेकपाले आपत्ति जनाएको छ। पञ्चायतकालमा समेत संगठन खोल्ने अधिकार रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक व्यवस्थामा यस्ता कदम संविधानविपरीत हुने चेतावनी दिइएको छ। साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको भन्दै पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ।

सरकारका सकारात्मक प्रतिबद्धतालाई स्वागत गर्ने उल्लेख गर्दै नेकपाले पूर्वाग्रही र एकपक्षीय निर्णयको विरोध गर्ने स्पष्ट पारेको छ। ‘सरकारले अनावश्यक स्टन्टबाजी नगरी सामाजिक न्यायमा केन्द्रित हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सुकुमबासी, किसान र मजदुरप्रति जिम्मेवार बन्नु नै अहिलेको आवश्यकता हो।’