काठमाडौँ- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यापारी दीपक भट्टसँग सम्बन्ध देखिएपछि गृहमन्त्री सुधन गुरुङ यतिबेला विवादमा तानिएका छन्। भट्टसँग गुरुङको कनेक्सन भेटिएको बाहिरिएपछि उनीमाथि नैतिकता र आर्थिक आचरणमाथि प्रश्न उठ्न पुगेको छ।
भट्टसँग साझेदारी रहेको भनिएको ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी’मा गृहमन्त्री गुरुङको नाममा सेयर रहेको कागजात बाहिरिएपछि उनीमाथि नैतिकता र आर्थिक आचरणमाथि प्रश्न उठ्न पुगेको छ।
यस सन्दर्भमा, जेनजी रेडफोर्सले बिचौलिया भट्टसँग बिजनेस साझेदारी गरेको आरोप लागेका गृहमन्त्री गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन्। वैशाख ७ गते सोमबार जेनजेड रेड फोर्स नेपालकी संयोजक स्मृति तिमल्सिनाले विज्ञप्ति जारी गर्दै गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिएकी छन्।
प्रेस विज्ञप्ति जारी गर्दै तिमल्सिनाले गृहमन्त्री गुरुङका अरु पनि धेरै काण्ड बाहिर आउनसक्ने सम्भावना रहेको उल्लेख गर्दै तत्काल राजीनामा दिएर छानबिनमा सघाउन आग्रह गरेकी हुन्।
कुनै दलमा नलाग्ने र मन्त्री बन्न पनि नजाने प्रतिबद्धता जनाए पनि गुरुङ रास्वपा प्रवेश गरी गृहमन्त्रीसम्म बनेको उल्लेख गर्दै विज्ञप्तिमा बिचाैलियासँग साँठगाँठ गरेको आरोप पनि लगाइएको छ ।
‘नैतिक जिम्मेवारी लिँदै तपाईँले यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिनुहोस् र तपाईंमाथि निष्पक्ष छानबिन गर्न सरकारलाई मार्ग प्रशस्त गरिदिनुहोस् । जनताको विश्वासमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन’, विज्ञप्तिमा भनिएको छ।

यसअघि, नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि तुरुन्त अनुसन्धान गर्न माग गरेको छ। सम्पत्ति विवरणसम्बन्धी विषयका कारण विवादमा आएका गुरुङबारे सोमबार धारणा सार्वजनिक गर्दै कांग्रेसले उनीमाथि तुरुन्त अनुसन्धान गर्न माग गरेको हो ।
‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ । यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो’, प्रवक्ता देवराज चालिसेको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’






प्रतिक्रिया