अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा २४ कोरियाली नागरिक निष्काशित

धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा २४ कोरियाली नागरिक निष्काशित


काठमाडौं-नेपाल सरकारले भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न भएको भन्दै २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्काशन गरेको छ। अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्दै जनही ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

अध्यागमन विभागका अनुसार, ती नागरिकलाई प्रस्थान गरेको मितिले तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्काशन गरिएको छ। उनीहरू सबैको पर्यटक भिसाको म्याद बाँकी रहेकै अवस्थामा यस्तो निर्णय गरिएको हो।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७, मालाती मार्गस्थित सुन्दरडाँडा क्षेत्रमा रहेको नेपाल न्यु कोभेनान्ट कलेज (एनएनसीसी) नामक शैक्षिक संस्थाको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा उनीहरू सहभागी भएका थिए। पर्यटक भिसामा नेपाल आएर धार्मिक गतिविधिमा संलग्न भएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रशासन कार्यालय, मोरङले अनुसन्धान तथा आवश्यक कारबाहीका लागि २०८३ असोज २३ गते उनीहरूलाई अध्यागमन विभागमा उपस्थित गराएको थियो। उनीहरूको आचरण शंकास्पद देखिएको र प्राप्त भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि विभागले कारबाही अघि बढाएको जनाएको छ।

अध्यागमन कानुनबमोजिम जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने, भिसा रद्द गर्ने तथा तीन वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णय असोज २८ गते गरिएको विभागले जनाएको छ।