काठमाडौँ-नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ। सोमबार अनुशासन समितिले तामाङलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेकाे हाे।
पार्टी र नेतृत्वका विरूद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाे भन्दै तामाङलाई स्पष्टीकरण साेधिएकाे अनुशासन समितिका सचिव दिनेश थापामगरले बताए।
आज बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र स्पष्टिकरण सोध्ने निर्णय गर्दछ,’समितिका सचिव थापामगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ।
यसअघि नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अनुशासन उल्लंघन गरेको भन्दै ७ दिने स्पष्टीकरण सोधिएको थियो । खड्काले पार्टीको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गरी अनधिकृत वक्तव्य जारी गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो।







प्रतिक्रिया