काभ्रे-केही दिनदेखि अवरुद्ध रहेको बीपी राजमार्गमा आज बिहानदेखि गाडी चल्न थालेका छन्। काभ्रेस्थित रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरेपछि हाललाई बाटो सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
‘बीपी राजमार्गमा बगाएको डाइभर्सन मर्मत गरी हाललाई बाटो सुचारु गरिएको हुनाले लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्नुहोला,’ जिप्रका काभ्रेले सूचना जारी गर्दै भनेको छ, ‘सुरक्षा सम्बन्धमा प्रहरीको सुझाव तथा निर्देशनलाई अनिवार्य पालना गर्नुहोला। बाटोको अवस्थाको बारेमा थप जानकारी लिनको लागि १०० र १०३ मा सम्पर्क गर्नुहोला।’
वर्षापछि रोसी खोलामा आएको बाढीले गत सातादेखि नै बीपी राजमार्ग अवरुद्ध हुँदै आएको थियो।
बाढीले काभ्रेको चारसयबेसी, घुमाउने, दाउन्ने, नार्केललगायत स्थानका डाइभर्सन बगाउँदै आएको छ। गतसाता बाढीले ह्युम पाइपसमेत बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
बाढीले बगाएको ठाउँमा फेरि अर्को डाइभर्सन तयार गरेपछि बीपी राजमार्ग सुचारु भएको हो ।
२०८१ साल असोज १२ गते आएको बाढीले काभ्रेको भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक क्षत विच्छद पाएको थियो। क्षतिग्रस्त खण्डमध्ये काभ्रेतर्फ चार र सिन्धुलीतर्फ एउटा ठेक्कामार्फत पुनर्निर्माण कार्य भइरहेको छ।







प्रतिक्रिया