जनकपुरधाम – धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनकारीले आज बिहान ७ बजेदेखि ८ बजेसम्म जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । सडक अवरुद्ध हुँदा सवारी आवागमन रोकिएको भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख राजाराम यादवले बताए । क्षीरेश्वरनाथ नगरपालिकाले गत सोमबार सूचना जारी गर्दै नेपाल सरकार गृह मन्त्रालयको २०८३ वैशाख १६ गतेको पत्रअनुसार नगरपालिका क्षेत्रभित्र वडा नं १ देखि १० सम्म रहेका अतिक्रमित, अव्यवस्थित तथा जोखिमयुक्त सरकारी र सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा तथा अन्य संरचना सात दिनभित्र खाली गर्न आग्रह गरेको थियो ।
नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमित क्षेत्र खाली नगरे सुरक्षाकर्मीको सहयोगमा हटाइने चेतावनीसमेत दिएको छ । सूचनापछि प्रभावित स्थानीयवासीले वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै आन्दोलन थालेका हुन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्थानीयवासीको भनाइ छ ।







प्रतिक्रिया