अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक सम्मेलन काठमाडौंमा सुरु, अनुभवको उपयोग गर्न राष्ट्रपति पौडेलको जोड

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक सम्मेलन काठमाडौंमा सुरु, अनुभवको उपयोग गर्न राष्ट्रपति पौडेलको जोड



काठमाडौं — मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित अन्तर्राष्ट्रिय जेष्ठ नागरिक सम्मेलन काठमाडौंमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा जेष्ठ नागरिकका हक, अधिकार र भूमिका सम्बन्धी विभिन्न विषयमा छलफल हुनेछ ।
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडलले जेष्ठ नागरिकहरू समाजका विशिष्टिकृत वर्ग भएको उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनले जेष्ठ नागरिकले सहज स्वास्थ्य सेवा पाउने अधिकार रहेको स्पष्ट पार्दै नयाँ पुस्ताले उनीहरूको अनुभवबाट ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले नेपालको जनसंख्या वृद्धोन्मुख हुँदै गएको उल्लेख गर्दै जेष्ठ नागरिकको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापन आवश्यक रहेको बताए। उनले नीति निर्माण र कार्यान्वयनमा जेष्ठ नागरिकको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखे। साथै, परिपक्व नीति निर्माण र व्यावहारिक कार्यान्वयनका लागि उनीहरूको सुझाव उपयोगी हुने बताए।
उक्त अवसरमा उनले स्वर्गीय मनमोहन अधिकारीलाई सरल र सादगीपूर्ण नेताका रूपमा स्मरण गर्दै बहुदलीय व्यवस्थाका पक्षधर तथा उदारवादी नेताका रूपमा चिनाए। साथै उनले दक्षिण एसियामै पहिलो जननिर्वाचित कम्युनिस्ट नेतृत्वको उदाहरण प्रस्तुत गरेको उल्लेख गरे। वृद्ध भत्ताको व्यवस्था सुरु गर्ने श्रेय पनि उनैलाई जाने बताए।
प्रतिष्ठानका तथा सम्मेलनका अध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिस्ट आन्दोलनका शीर्ष व्यक्तित्व भएको स्मरण गर्दै प्रतिष्ठानले जेष्ठ नागरिकका हकहितका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। उनले मनमोहन अधिकारीको जीवनमा आधारित डकुमेन्ट्री निर्माण गरिएको बताए।
सम्मेलनलाई जेष्ठ नागरिक र नयाँ पुस्ताबीच अनुभव आदानप्रदान गर्ने सेतुका रूपमा लिइएको छ। आयोजकका अनुसार यस्तो कार्यक्रमले जेष्ठ नागरिकका मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।