काठमाडौँ-काठमाडौँको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। शनिबार राति महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि अहमदले आफ्नै सालो पर्ने जाकिर मन्सुरीको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार गएराति करिब ९:१५ बजे उनीहरूबिच घरायसी विषयमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि अहमदले तरकारी काट्ने चक्कुले २०–२५ वर्षका जाकिरमाथि प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका जाकिरलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेड पोइन्ट अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति ९:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक जाकिरको स्थायी घर महोत्तरीको गौशाला नगरपालिका–५ हो ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने समि अहमदलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार मृतकको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको छ ।




प्रतिक्रिया