पश्चिम नवलपरासी-नेपाल-भारत सीमा क्षेत्रमा तस्करी रोक्ने क्रममा सशस्त्र प्रहरीमाथि तस्कर समूहले आक्रमण गरेको छ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-५, गेरमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा तस्कर समूहले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको हो।
सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको सात सदस्यीय टोलीमाथि करिब १०० देखि १५० जनाको समूहले आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ। आक्रमणबाट ड्युटीमा खटिएका चार जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्।
सशस्त्र प्रहरीको टोलीले भारततर्फ तस्करी गरी लैजाँदै गरिएको २० देखि २५ बोरा खरबुजाको बीउ नियन्त्रणमा लिने प्रयास गरेको थियो। तर, ठूलो संख्यामा आएका तस्कर समूहले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्नुका साथै नियन्त्रणमा लिइएको सामानसमेत खोसेर लगेपछि घटनास्थलमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ६ राउण्ड हवाई फायर गरेको जनाएको छ। आक्रमणका क्रममा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। तस्कर समूहले नियन्त्रणमा लिइएको बीउ खोसेर लगेपछि सशस्त्र प्रहरीले दुई बोरा खरबुजाको बीउ मात्रै आफ्नो नियन्त्रणमा राख्न सकेको थियो।
घटनालगत्तै थप सुरक्षा मद्दतका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट थप टोली परिचालन गरिएको थियो। थप सुरक्षा टोली परिचालनपछि घटनास्थलको अवस्था सामान्य बनेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पछिल्लो समय तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीमाथि आक्रमणका घटना बढ्दै गएको छ।



प्रतिक्रिया