काठमाडौँ-नेपाल प्रहरीले फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण तथा प्रमाण अनधिकृत रूपमा सार्वजनिक नगर्न बहालवाला तथा पूर्वप्रहरी कर्मचारीलाई निर्देशन दिएको छ।
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानको दायरामा रहेका विषयसँग सम्बन्धित गोप्य सूचना चुहावट भइरहेको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
प्रहरी प्रधान कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा सङ्कलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानुन तथा प्रहरी आचरणविपरीत हुने स्पष्ट पारेको छ ।
यस्ता गतिविधिले शङ्कित व्यक्तिको वैयक्तिक गोपनीयतामा असर पुग्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता, संवेदनशीलता र नेपाल प्रहरीको साङ्गठनिक गरिमामा समेत आँच पुग्ने प्रहरीको भनाइ छ ।
प्रहरीले प्रहरी नियमावली, २०७१ को नियम ७१ (आचरणसम्बन्धी व्यवस्था) उल्लङ्घन गरेमा नियम १०९ र ११३ अनुसार तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ को उपदफा (३), (४) र (५) बमोजिम कारबाही हुन सक्ने जनाएको छ । उक्त कानुनी व्यवस्थामा गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र त्यस्ता कार्यमा दुरुत्साहन गर्नेसम्बन्धी प्रावधान रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन, सार्वजनिक नगर्न र त्यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन आग्रह गरेको छ ।
साथै, प्रहरी कर्मचारीलाई आफ्नो पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन तथा साङ्गठनिक जिम्मेवारीप्रति सधैँ सचेत र जिम्मेवार रहन निर्देशन दिइएको छ ।
बहालवाला वा पूर्वप्रहरी कर्मचारी यस्ता गैरकानुनी तथा अनुशासनविपरीतका गतिविधिमा संलग्न रहेको वा त्यस्ता कार्यलाई प्रोत्साहन, सहयोग तथा सहजीकरण गरेको पाइएमा आवश्यक छानबिन गरी विभागीय तथा कानुनी कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो ।




प्रतिक्रिया