काठमाडौं । प्रशासन सेवाका पाँच उपसचिवलाई जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ। त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहका चार उपसचिवलाई पनि सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै प्रशासन सेवातर्फ पाँच जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको जनाएको हो।
बढुवा सिफारिस हुनेमा लेखा समूहका उपसचिव मोहनशरण भण्डारी तथा सामान्य प्रशासन समूहका उपसचिव तीर्थ प्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल रहेका छन्। उनीहरू सबै एकै दिन उपसचिव पदमा नियुक्त भएका थिए।
सिफारिस भएका भण्डारी राजस्व न्यायाधिकरणमा कार्यरत छन्। पौडेल खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पोखरेल रक्षा मन्त्रालय, थापा भूमि प्रशासन कार्यालय धनकुटा तथा कटुवाल सल्यानको कुपिन्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्।
त्यसैगरी, नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत जनरल उपसमूहका मोहनदत्त भट्ट तथा हाइवे उपसमूहका सुजन अधिकारी, रामकुमार देव र सन्तोषकुमार कर्णलाई पनि सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ।



प्रतिक्रिया