काठमाडौं-नेपाल खेलकुद महासंघको १८औँ स्थापना दिवसको अवसरमा नेपाल बहिरा पारा जुडो संघका खेलाडीहरूलाई खेलकुद सामग्री तथा खाद्यान्न वितरण गरिएको छ।
नेपाल खेलकुद महासंघका अध्यक्ष दिपेन्द्र प्रसाद दाहालको अध्यक्षतामा तथा बहिरा पारा जुडो संघकी इन्चार्ज रोजिना श्रेष्ठको समन्वयमा आयोजित कार्यक्रममा महासंघका पदाधिकारी, स्थायी कमिटी, सचिवालय तथा केन्द्रीय कमिटीका सदस्यहरू र विभिन्न विभागका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा महासंघका अध्यक्ष दिपेन्द्र प्रसाद दाहालले आफ्नो मन्तव्य राख्दै नेपाल खेलकुद महासंघ सधैँ बहिरा पारा जुडो संघका खेलाडीहरूको साथमा रहने र उनीहरूको खेलकुद विकास, क्षमता अभिवृद्धि तथा आवश्यक सहयोगका लागि निरन्तर प्रतिबद्ध रहने बताए। उनले खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रोत्साहन गर्दै उनीहरूलाई खेलकुदको मूल प्रवाहमा समेट्न सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा महासंघका उपाध्यक्षद्वय धर्म कुमार श्रेष्ठ र नन्दा बस्याल, महासचिव धरम बहादुर लामा, सचिव उज्ज्वल सुवेदी, अनुशासन आयोगका अध्यक्ष डिबी रानापाल, स्थायी कमिटी सदस्यहरू जगत धामी, दीपक तामाङ, केशव ओली तथा स्थायी कमिटी सदस्य एवं कार्यालय विभाग प्रमुख राम गोपाल घिमिरेको उपस्थिति रहेको थियो।

त्यसैगरी सचिवालय सदस्यहरू सुदिप खड्का, हिक्मत बोहरा, नारायण थपलिया र आशिष राई तथा केन्द्रीय सदस्य रोबिन पोखरेललगायत केन्द्रीय कमिटी र विभिन्न विभागका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल बहिरा पारा जुडो संघका खेलाडीहरूले आकर्षक नृत्य तथा जुडो खेल प्रदर्शनसमेत गरेका थिए। खेलाडीहरूको प्रतिभा, क्षमता र खेलकुदप्रतिको लगाव झल्किने सांस्कृतिक तथा खेल प्रदर्शनले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
नेपाल खेलकुद महासंघले आफ्नो १८औँ स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व, मानवीय सहयोग र खेलाडी प्रोत्साहनसँग जोड्दै विशेष क्षमता भएका खेलाडीहरूको हौसला अभिवृद्धि तथा समावेशी खेलकुद विकासको सन्देश दिएको छ।
महासंघले आगामी दिनमा पनि बहिरा पारा जुडोलगायत विभिन्न विधाका खेलाडीहरूको क्षमता विकास, प्रोत्साहन र खेलकुदमा समान अवसर सुनिश्चित गर्न सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



प्रतिक्रिया