अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुम्ला र बाजुराको सिमानामा अस्थायी चौकी स्थापना गर्ने विषयमा विवाद, पाँचजना घाइते

हुम्ला र बाजुराको सिमानामा अस्थायी चौकी स्थापना गर्ने विषयमा विवाद, पाँचजना घाइते


काठमाडौँ-हुम्ला र बाजुराको सिमानामा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा दुई जिल्लाका स्थानीयबीच विवाद भएको छ। २०८३ वैशाख ३ मा दुई जिल्लाका स्थानीयको बिचमा झडप भएको थियो । झडपमा परेर बाजुराको हिमाली गाउँपालिका-५ लाम्पाटा घर भएका ५ जना घाइते भएका छन् ।

उनीहरूलाई हेलिकप्टरमार्फत सुविधा सम्पन्न अस्पतालमा पठाउन लागिएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उनले भने, ‘घाइतेहरूलाई अहिले गुम्बा भन्ने ठाउँबाट बोकेर तल ल्याइँदै छ, त्यहाँ हेलिकप्टर पठाउन समन्वय गर्दछु।’

हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सिमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी राख्ने निर्णय भएको थियो । चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै अवरोध गरेका हुन् । कवारीखोला लाई हुम्लाका स्थानीयले दुई जिल्लाका सिमाना दाबी गरेको हुम्लाका डीएसपी शङ्कर खड्काले बताए । उनले भने, ‘बाजुरातर्फ चौकी निर्माणको काम रोकिएपछि अहिले अवस्था सामान्य भएको छ।’

विवाद भएपछि गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले चौकी निर्माणको काम रोक्न निर्देशन दिएका थिए । बाजुराका प्रजिअ डोरेन्द्र निरौला भन्छन्, ‘राजनीतिक सिमानाका कुरा माथिल्लो तहबाट छलफल र समाधानको पहल होला ।’