काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य संवेदनशील रहेका बेलामा नेतृत्व परिवर्तनको कुरा उठाइएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । उनले यसलाई गैरजिम्मेवार र अपराधिक मानसिकताको संज्ञासमेत दिए ।
बस्नेतले नेकपा एमालेको सचिवालय बैठकमा आफ्नो तर्फबाट २४ बुँदा अघि सारेका थिए । तीमध्ये दुई बुँदालाई लिएर गलत ढंगले प्रचार गर्न खोजिएको भन्दै उनले सामाजिक सञ्जालमा स्पष्टीकरण लेखेका छन् ।
अध्यक्ष ओलीलाई प्रधानमन्त्री बालेन र तत्कालीन गृहमन्त्री सुदनले सपथ खाएको २४ घण्टा नबित्दै गिरफ्तार गरेको र कुनै आरोप पुष्टि गर्न नसकेपछि अदालतले १३ दिनपछि रिहा ग¥यो बस्नेतले बताएका छन् ।
उनी लेख्छन्, ‘स्वभाविकरूपमा उहाँ कष्टडीबाट घर फर्किन चाहनुहुन्थ्यो, तर त्यतिबेला डाक्टरको सल्लाह मुताबिक उहाँलाई दुईवटा अपरेशन (पत्थरी र हर्नियाको) गर्न टिचिङ्ग अस्पताल भर्ना गरियो ।’
अपरेशनपछि पनि निमोनिया र इन्फेक्सनका कारण अध्यक्षको स्वास्थ्य संवेदनशील रहेको बस्नेतको भनाइ छ ।
‘यस्तो बेला पार्टीले नेतृत्वको रक्षा गर्दै सशक्त प्रतिरोधी आन्दोलन गर्नुपर्ने अवस्थामा अध्यक्ष फेर्ने कुरा उठाउनु गैरजिम्मेवार र अपराधिक मानसिकता हो भन्ने मेरो स्पष्ट धारणा हो,’ उनले भनेका छन् ।
सोही समयमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका रामबहादुर थापा ‘बादल’ संसदमा दिएको अभिव्यक्तिलाई सच्याउने पार्टीको निर्णयको पनि उनले आलोचना गरेका छन् ।
बस्नेतले भनेका छन्, ‘उहाँले व्यक्त गर्नुभएको साम्राज्यवादी शक्ति, अल्गोरिदममार्फत युवाहरूलाई गलत ढंगले परिचालन र राज्यको संयन्त्र सेना, प्रहरी लगायतको दुरुपयोग गरी निर्वाचन परिणाम निकालिएको भन्ने विषयमा राख्नु भएको धारणा सच्याउने निर्णय गर्नु गल्ती भएको छ ।’




प्रतिक्रिया