काठमाडौं-नेकपा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने बताएकी छन्। सांसद अर्यालले लोकतान्त्रिक संस्कार र राजनीतिक उत्तरदायित्व स्थापित गर्नु नै आफ्नो दलको मुख्य उद्देश्य रहेको स्पष्ट पारेकी हुन्।
जेठ १२ गते मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद अर्यालले संसद लोकतन्त्रको मुख्य थलो भएकाले सरकार प्रमुखले संसदलाई सम्मान गर्दै जनताका सवालमा जवाफदेही बन्नुपर्ने बताइन्।
सांसद अर्यालले प्रतिपक्षी दलको भूमिका केवल विरोध गर्ने मात्र नभई जनताका मुद्दालाई प्रभावकारी रूपमा संसदमा उठाउने र सरकारलाई जिम्मेवार बनाउने रहेको उल्लेख गरिन्। सांसद अर्यालले संसदमा भइरहेको बहसलाई लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भन्दै जनचासोका विषयमा सरकार स्पष्ट हुनुपर्ने धारणा राखिन्।
सांसद अर्यालले संसदमा भइरहेको बहसलाई स्वाभाविक प्रक्रिया भएको बताइन्। उनले प्रतिपक्षीले उठाएका मागलाई सत्तापक्षले जुवारी खेलको रूपमा लिन नहुने धारणा राखिन् ।
सांसद अर्यालले संसदमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री महिनामा कम्तीमा एक पटक उपस्थित हुनुपर्ने व्यवस्था नियमावलीमै रहेको उल्लेख गर्दै सो व्यवस्था कार्यान्वयन गराउन आफूहरूले ध्यानाकर्षण र विरोध जनाएको स्पष्ट पारिन्।
उनले प्रतिपक्षको विरोध सधैँका लागि नभई नियमावलीले अनिवार्य गरेको दिन प्रधानमन्त्री उपस्थित नभए आन्दोलन र संघर्षको स्वरूपमा जाने चेतावनी दिइन्। संसद अवरुद्ध गर्ने उद्देश्य नभएको भन्दै आवश्यकताअनुसार मात्रै विरोध गरिने उनको भनाइ थियो।
एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलेको भन्ने चर्चाप्रति प्रतिक्रिया दिँदै अर्यालले पार्टी बैठकमा अध्यक्षले राजीनामा दिनुपर्ने कुरा कुनै सदस्यले नउठाएको दाबी गरिन्। उनले पार्टीले चुनावी परिणामको वस्तुगत समीक्षा गर्न कार्यदल गठन गरेर एक महिनाको समय दिएको जानकारी दिइन्।
उनले पछिल्लो निर्वाचनमा एमाले मात्रै नभई सबै पुराना राजनीतिक दलहरू कमजोर बनेको दाबी गर्दै राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन परिवर्तन भएको बताइन् । वामपन्थी एकताको विषयमा बोल्दै उनले अहिले कुनै पनि राजनीतिक दलबीच औपचारिक छलफल नभएको स्पष्ट पारिन्। सबै दल अहिले आत्मसमीक्षा र आगामी रणनीति निर्माणमा केन्द्रित रहेको उनको भनाइ थियो ।




प्रतिक्रिया